झापा । झापाको दमक नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रम बनाउँदा प्राथमिकता निर्धारण गरेरमात्र अघि बढ्ने निर्णय गरेको छ । लगातार केही बर्षदेखि घाटा बजेट ल्याउँदै आएको नगरपालिकाले यो बर्ष पनि घाटा बजेट ल्याउने तयारी गरेको छ ।
‘अघिल्लो बर्ष पनि घाटा बजेट रहेको र यो बर्ष पनि हामी घाटा बजेट ल्याउनलाई बाध्य छौ’ दमक नगरपालिका उपप्रमुख रेगिना भट्राईले भनिन् ।
अन्यत्र कतिपय पालिकाले घाटा बजेट नल्याउने र बजेटको आकार घटाउने भनेकाले यस बिषयमा छलफल भइरहेको उनको भनाइ छ ।
अघिल्लो बर्ष वडालाई १० करोड बजेट उपलब्ध गराईएकोमा यो पटक १५ करोड उपलब्ध गराइने भएको छ ।
दमक नगरपालिकाको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको सिफारिस अनुसार आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट बाँडफाँटट गर्ने आधार अनुसार वडामा १५ करोडको बजेट सीमा निर्धारण गरिएको जनाइएको छ । अघिल्लो बर्ष यो सीमा १० करोड थियो ।
गत वर्षझैँ वडा स्तरमा विनियोजित बजेटको ५० प्रतिशत रकम समान न्यूनतम अनुदान र वाँकी ५० प्रतिशत तोकिएको मापदण्ड बमोजिम सूत्र प्रणालीबाट वडागत बजेट वडाँफाँट गर्ने र सोही आधारमा योजना तथा कार्यक्रमहरु माग गर्न सबै वडालाई पत्रचार गर्ने निर्णय भएको पनि जनाइएको छ ।
स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति तथा राजश्व परामर्श समितिबाट छलफल भई पेस हुन आएको आर्थिक वर्ष २०८०÷०८१ का लागि बजेट बनाउदा अवलम्बन गरिने मार्ग निर्देशन स्वीकृत गरी सवै वडाहरुमा पठाउने निर्णय भएको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले बताउनु भएको छ ।
अधुरा आयोजनाहरूलाई पूरा गर्ने, नगरस्तरीय पूर्वाधार विकासका आयोजना ३० लाख वा सोभन्दा माथिको छनौट गर्ने, छनौट भएका योजना पूर्ण रूपमा समापन हुने प्रकारको मात्र छनौट गर्ने, कालोपत्र गर्ने सडक आयोजना छनौट गर्दा कालोपत्रे वा पक्की सडकसँग जोडिने भए मात्र सहायक सडक कालोपत्रे गर्ने गरी छनौट गर्ने निर्णय भएको थापाले बताए ।
कालोपत्रे गर्नुअघि पक्की नाला बनाएकै हुनुपर्ने, पानी निकासको उचित प्रबन्ध भए मात्र नाला निर्माण आयोजना छनौट गर्ने, आयोजना छनौट गर्दा सकेसम्म चाँडो प्रतिफल प्राप्त हुने र अधिकतम वासिन्दाले सुविधा उपयोग गर्न पाउने गरी गर्ने प्रतिबद्धता सबै कार्यपालिका सदस्यहरुको रहेको उनले बताए ।
अधुरो रहने गरी वा निर्मित संरचनाले कुनै प्रतिफल नदिने वा उपयोगमा आउन नसक्ने आयोजना छनौट नगर्ने निर्णय भएको कार्यपालिका सदस्य एवं दमक वडा नं. ३ का वडाध्यक्ष नवीन बरालले बताए ।
यसअघि छनोट भएर कार्य प्रारम्भ भएका तथा कार्यन्वयनमा ल्याउनका लागि सम्झौता भइसकेका योजनाहरुबाहेक नयाँमा यो लागू हुने बरालले बताए ।
‘मुख्य शहरी क्षेत्रमा आयोजना छनौट गर्दा पानी निकास, सडक कालोपत्रे, लकिङ्ग टायल्स, सरसफाई व्यवस्थापन हरियाली प्रवद्र्धन फुटपाथ र रेलिङ्ग निर्माण एवम् फलफुल, तरकारी बजार व्यवस्थापन मासु पसल, वध स्थल व्यवस्थापन जस्ता आयोजनाहरूलाई प्राथमिकता दिने निर्णय भएको छ, बरालले भने ।
आयोजना संचालन गर्दा स्थानीय सरकार सञ्चालन ऐन, राष्ट्रिय योजना आयोग अर्थमन्त्रालय, मन्त्रालय र प्रदेश सरकारबाट तयार भएको मार्ग दर्शन र दमक नगरको वृहत योजना, २०७७ तथा मध्यमकालिन खर्च आयोजनालाई समेत आधार मानि छनौट गर्ने निर्णय भएको उनले उल्लेख गरे ।
Discussion about this post