सुरेन्द्र भण्डारी / झापा
आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि झापाका १५ वटै पालिकाले बजेट प्रस्तुत गरेका छन् । झापाका पाालिकाहरुले कूल बजेट १३ अर्ब ६६ करोड २४ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका हुन् । यो बजेटको अंकमा स्थानीय सरकारको आन्तरिक आम्दानीसहित प्रदेश र संघीय सरकारले दिने विभिन्न शीर्षकका अनुदान पनि जोडिएको हो ।
झापाका पालिकामा सबैभन्दा बढी दमक नगरपालिकाले एक अर्ब ८४ करोडको बजेट प्रस्तुत गरेको छ भने सबैभन्दा कम हल्दिवारी गाउँपालिकाले ४७ करोड ७४ लाख ३० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
प्रस्तुत गरिएको नीति कार्यक्रम तथा बजेटमा पूर्वाधार क्षेत्रको विकास सहित कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखिएको छ । संविधानमा स्थानीय तहले असार १० गतेभित्र नीति कार्यक्रम तथा बजेट ल्याउनु पर्ने प्रावधान छ । सोही अनुरुप झापाका सबै पालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बजेट ल्याएका हुन् ।
कुन पालिकाको बजेट कति ?
बिर्तामोड नगरपालिका – १ अर्ब ४० करोड
भद्रपुर नगरपालिका – ८५ करोड ६७ लाख ३ हजार
मेचीनगरपालिका – १ अर्ब ५१ करोड १२ लाख
कनकाई नगरपालिका- ६७ करोड ८७ लाख २४ हजार
अर्जुनधारा नगरपालिका – ७६ करोड ११ लाख ८० हजार
गौरादह नगरपालिका- ७९ करोड ९२ लाख ६७ हजार
शिवसताक्षी नगरपालिका – १ अर्ब २२ करोड
दमक नगरपालिका – १ अर्ब ८४ करोड १२ लाख
कचनकवल गाउँपालिका – ६३ करोड १ लाख १० लाख
हल्दिवारी गाउँपालिका – ४७ करोड ७४ लाख ३० हजार
बह्रदशी गाउँपालिका- ४९ करोड ८८ लाख ४० हजार
झापा गाउँपालिका – ४९ करोड ९० लाख १७ हजार
कमल गाउँपालिका – ७२ करोड २१ लख ८८ हजार
गौरीगञ्ज गाउँपालिका – ५२ करोड ९२ लाख ४९ हजार
बुद्धशान्ति गाउँपालिका – ६० करोड ७७ लाख ४७ हजार
भद्रपुर: बजेटको आकार साढे ५ करोडले घट्यो
भद्रपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रमसहितको प्रस्तावित बजेट सार्बजनिक गरेको छ ।
नगरपालिकामा शनिवार बसेको नगर सभाको १२ औं अधिवेशनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसहितको प्रस्तावित बजेट बहुमतले पारित गरेको हो । नगरपालिकाको चालू आर्थिक वर्ष २०७९/०८० मा ९१ करोड ३४ लाख २३ हजार अनुमानित बजेट रहेकोमा आगामी आर्थिक वर्ष २०८०/०८१ मा ८५ करोड ६७ लाख ३ हजार अनुमानित बजेट नगरपालिकाका उपप्रमुख राधा कार्कीले नगर सभामा सार्बजनिक गरेकी हुन् ।
चालु आर्थिक वर्षभन्दा आगामी आर्थिक वर्षका लागि ५ करोड ६७ लाख २० हजार रुपैयाँले नगरको बजेट घटेको हो ।
नगरको आगामी आर्थिक वर्षको बजेट अनुसार आर्थिक विकास कार्यक्रमतर्फ ४ करोड ८० लाख, सामाजिक विकास कार्यक्रम तर्फ ३६ करोड २५ हजार, वातावरण तथा विपत् व्यवस्थापन कार्यक्रमतर्फ ५८ लाख, संस्थागत विकास/सेवा प्रवाह/सूचना प्रविधि तथा कार्यालय सञ्चालनतर्फ १५ करोड ८० लाख र पूर्वाधार विकास कार्यक्रमतर्फ २८ करोड ४८ लाख ७८ हजार रुपैयाँ गरी ८५ करोड ६७ लाख ३ हजार अनुमानित बजेट रहेको उपप्रमुख कार्कीले बताइन् ।
उल्लेखित अनुमानित बजेट खर्च व्यहोर्ने स्रोतमध्ये नगरपालिकाको आन्तरिक आय ५ करोड ५० लाख, राजश्व बाँडफाँडतर्फ सङ्घीय सरकारबाट १२ करोड ४४ लाख १० हजार, प्रदेशबाट ८२ लाख, स्थानीयबाट २ करोड ८० लाख ७९ हजार, सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय हस्तान्तरणमध्ये वित्तीय समानीकरण अनुदानबाट १८ करोड ५८ लाख ११ हजार, समपूरक अनुदानबाट १ करोड ७९ लाख ७८ हजार, सशर्त अनुदानबाट ३१ करोड ७२ लाख २५ हजार, विशेष अनुदानबाट २ करोड र नगरपालिकाको आन्तरिक आय, योजनामा जनसहभागिता, राजश्व बाँडफाँड र वित्तीय हस्तान्तरणबाट अपुग हुने १० करोड बराबरको योजना तथा कार्यक्रमहरू सञ्चालन हुने उनले बताइन् ।
त्यस्तै नगर प्रमुख गणेश पोखरेलले नगरको नीति तथा कार्यक्रमको बारेमा जानकारी गराएका थिए । सीमित स्रोत साधनका बीच नगरवासीको प्राथमिकतामा आधारित नीति तथा कार्यक्रम बनाइएको नगर प्रमुख पोखरेलले बताए । सामाजिक विकास क्षेत्रमध्ये शिक्षा र स्वास्थ्य तथा पूर्वाधार क्षेत्रबाहेक कृषि र पशु सेवा क्षेत्रलाई समेत प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याइएको उनको भनाई छ । सो कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले सहजीकरण गरेका थिए ।
बिर्तामोडको १ अर्ब ४० करोड
बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट १ अर्ब ४० करोड ९५ लाख ५० हजार रुपैयाँको ल्याएको छ ।
नगरपालिकाको दोश्रो नगरसभाको तेश्रो नगर अधिवेसन अन्तर्गतको प्रथम बैठकमा नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले बजेट प्रस्तुत गरेका थिए । । उक्त बजेट मध्ये आयतर्फ संघीय समानीकरण अनुदानबाट २० करोड ३६ लाख, संघीय सरकार राजश्व बाडफाँडबाट १३ करोड १६ लाख ९२ हजार, प्रदेश समानीकरण अनुदानबाट १ करोड ३४ लाख ४ हजार, प्रदेश राजश्व बाँडफाँडबाट १ करोड १९ लाख ७५ हजार रुपैयाँ छ ।
यसैगरी नगरपालिकाको आन्तरिक आय र मालपोत रजिष्ट्रेशन शुल्क समेतबाट गरी जम्मा ३२ करोड, संघीय शसर्त अनुदान चालुतर्फ २९ करोड ६ लाख तथा पुजीगततर्फ ३६ करोड ७६ लाख, संघीय बिशेष अनुदान २ करोड र समपूरक अनुदान ६५ लाख तथा प्रदेश सशर्त अनुदान ६२ लाख २५ हजार, समपूरक अनुदान १ करोड २९ लाख ५१ हजार रुपैयाँ बजेट प्राप्त हुने नगर उपप्रमुख संग्रौलाले प्रस्तुत गरेका थिए ।
नगरपालिकाले चालू आर्थिक वर्ष ०७९/०८० को लागि कुल १ अर्ब ३८ करोड ३५ लाख ४ हजार ४ सय ९०रुपैयाँ (सामाजिक सुरक्षाको बजेट समेत)को बजेट ल्याएको थियो । बजेट संघ तथा प्रदेशबाट प्राप्त हुने सशर्त बजेट, समपूरक अनुदान र विशेष अनुदानका योजना तथा कार्यक्रमहरु र सशर्तमा तोकिएका योजना तथा कार्यक्रममा खर्च हुने जनाइएको छ।
नगरपालिकाले कृषि क्षेत्रमा १ करोड, पशुपन्क्षी तथा मत्स्यविकासमा ७५ लाख , शिक्षा क्षेत्रमा २ करोड ५० लाख, स्वास्थ्य क्षेत्र नगर अस्पताल तथा विपन्न नागरिकहरुको स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन समेतमा ३ करोड २० लाख, मर्मत संभार कोष र सडक सुधारमा २ करोड, महिला, बालबालिका, अपाङ्ग ज्येष्ठ नागरिक, दलित, मधेशी, जनजाति, अदिवासी समेतलाई लक्षित कार्यक्रममा १ करोड विनियोजन गरेको छ ।
यसैगरी, लघुउद्यम विकास, सहकारी युवा तथा खेलकुद कार्यक्रममा ७० लाख, फोहोरमैला व्यवस्थापन तथा विपद् व्यवस्थापनमा २ करोड ५० लाख, देबीहाट बुधाबारे बजारमा बहुतले व्यवसायिक भवन निर्माण, नगरको प्रशासनिक भवन निर्माण तथा अन्य पूर्वाधार निर्माणमा साझेदारी गर्न समपूरक कोषमा ५ करोड ५० लाख, लोक कल्याणकारी सूचना सन्देश विज्ञापन र सचेतनामुलक कार्यक्रमहरुमा ५० लाख, नगरस्तरीय नगरगौरव योजना, वडास्तरीय योजना तथा बहुवर्षे क्रमागत योजना समेतमा २२ करोड रुपैयाँ बिनियोजन गरेको छ ।
नगरपालिकाले व्यवसायीहरुलाई व्यवसाय करको दायरा भित्र ल्याउन एकपटकको लागि आन्तरिक राजश्व कार्यालयमा दर्ता भई बिर्तामोड नगरपालिकामा व्यवसाय दर्ता नभएका र दर्ता भई नवीकरण हुन बाँकी रहेका उद्योग, फर्म, कम्पनीलाई ३ वर्ष वा सो भन्दा माथिको वक्यौता कर तिर्नुपर्ने रहेछ भने ३ वर्ष सम्मको हकमा १ वर्षको कर र ३ वर्ष माथिको बक्यौता हुनेको हकमा २ वर्षको कर लिई आ.ब. २०८०/८१ को श्रावण देखि कार्तिक महिना सम्मका लागि एकपटक दर्ताका लागि समय उपलब्ध गराउने जनाएको छ । उक्त अवधिमा समेत दर्तामा नआउने फर्म/कम्पनीलाई बुझाउनु पर्ने सम्पूर्ण करको अतिरिक्त शतप्रतिशत जरिवाना गरी असुलउपर गरिने नगरपालिकाले बजेटमा उल्लेख गरेको छ ।
दमकको बजेट १ अर्व ८४ करोड
दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि कुल बजेट १ अर्ब ८४ करोड १२ लाख ३९ हजार सार्बजनिक गरेको छ ।
जसमध्ये चालू खर्चतर्फ १ अर्व १ करोड ९४ लाख ९७ हजार (५५.३७ प्रतिशत) र पूँजिगत खर्चतर्फ रु ८२ करोड १७ लाख ४२ हजार (४४.६३ प्रतिशत) वजेट विनियोजन गरिएको तेर्हौ नगरसभामा नगरकी उप प्रमुख रेगिना भट्टराई वजेट सहितको नीति तथा कार्यक्रम सार्बजनिक गरेकी हुन् ।
प्रसाईले प्रस्तुत गर्नु भएको बजेटमा खर्च व्यहोर्ने श्रोततर्फ नगरपालिकाको आन्तरिक आयबाट रु २४ करोड ९४ लाख ९२ हजार र दमक अस्पतालको आन्तरिक आयबाट रु ३१ करोड रकम व्यहोरीने छ भने संघीय सरकारको अनुदान ९५ करोड ८९ लाख र प्रदेश सरकारको अनुदान ४ करोड ८ लाख ८८ हजार प्राप्त हुने छ ।
राजश्व बाँडफाइबाट रु २७ करोड १९ लाख ५९ हजार र जनसहभागितावाट रु १ करोड रकम व्यहोर्ने गरी प्रस्ताव गरिएको छ । नगरले सार्वजनिक गरेको नीति तथा कार्यक्रम एंव बजेटमा नगरपालिकाले शिक्षाकालागी बजेट वृद्धि गरेको छ । चालू आर्थिक वर्षमा शिक्षा सुधारकालागी एक करोड बजेट छुट्याईएकोमा आगामी आर्थिक वर्षकालागी ४ करो ८४ लाख ९० हजार बजेट प्रस्तुत भएको छ ।
यस्तै अन्तर सरकारी बित्तीय हस्तान्तरण सहित गरि दमकमा शिक्षामा कुल ३७ करोड ६९ लाख ८४ हजार बजेट प्रस्ताव गरिएको छ ।
मेचीनगरको बजेट १ अर्ब ५१ करोड १२ लाख
मेचीनगर नगपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को प्रस्तावित बजेट नीति तथा कार्यक्रमका लागि १ अर्ब ५१ करोड भन्दा बढीको अनुमानित बजेट प्रस्ताव गरेको छ ।
नगरपालिकाको आर्थिक विधेयक २०८० को विनियोजन विधेयक प्रस्तुत गदैं उपप्रमुख मीना पोखरेल उप्रेतीले कूल १ अर्ब ५१ करोड १२ लाख ४० हजार ३ सय ६७ रुपैयाँमा भएको बताइन् । उनले विपद् कोषका लागि १ करोड तथा मर्मत सम्भार कोषमा २ करोड रुपैयाँ विनियोजन प्रस्ताव गरिएको बताएकी थिइन् ।
आन्तरिक आय १२ करोड ८७ लाख, राजस्व बाडफाँड १८ करोड ९९ लाख १७ हजार समानीकरण अनुदान १५ करोड ६१ लाख ७५ हजार र स्थानीय राजस्व बाँडफाँडमा ३ करोड रुपैयाँको बजेट पेश गरेकी थिइन् ।
चालू खर्चतर्फ ८५ करोड ७ लाख ७ हजार रुपैयाँ वा कुल बजेटको ५६ दशमलव २९ प्रतिशत पुँजीगत खर्च तर्फ ६५ करोड ८० लाख ३३ हजार ३ सय ६७ रुपैयाँ वा ४३ दशमलव ५४ प्रतिशत वित्तिय व्यवस्थातर्फ २५ लाख रुपैयाँ वा शुन्य दशमलव १७ प्रतिशत गरी कुल १ अर्ब ५१ करोड १२ लाख ४० हजार ३ सय ६७ रुपैयाँ बराबरको अनुमानित बजेट रहेको छ ।
नगर उपप्रमुख उप्रेतीले चालू खर्चतर्फ ८५ करोड ७ लाख, ७ हजार रुपैयाँ वा ५६ दशमलव २९ प्रतिशत पुँजीगत खर्चतर्फ ६५ करोड ८० लाख ३३ हजार ३ सय ६७ रुपैयाँ वा ४३ दशमलव ५४ प्रतिशत वित्तिय व्यवस्थातर्फ २५ लाख रुपैयाँ वा शुन्य दशमलव १७ प्रतिशत गरी कुल १ अर्ब ५१ करोड १२ लाख ४० हजार ३ सय ६७ रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरेकी थिइन् ।
कृषितर्फ करीब २ करोड ४८ लाख र पशु विकास तर्फ ४६ लाख गरी आर्थिक विकासका विभिन्न क्षेत्रमा ५ करोड ९३ लाख ८४ हजार रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको छ । शिक्षातर्फ ४२ करोड ७८ लाख छुट्याइएको छ भने स्वास्थ्यतर्फ ७ करोड ४ लाख रुपैयाँ जति विनियोजन प्रस्ताव गरिएको छ ।
त्यसैगरी सामाजिक सुरक्षामा करिव १ करोड २२ लाख ७० हजार, युवा खेलकुदमा १ करोड ४५ लाख, खानेपानीमा ८३ लाख, लैगिक समानता र समाबेशीकरणमा ७७ लाख गरी सामाजिकविकास तर्फ कूल ५४ करोड ८८ लाख रकम विनियोजन प्रस्ताव गरिएको छ ।
सडक यातायात भवन आवास लगायतकापूर्वाधारमा करीव ६४ करोड रुपैयाँ विनियोजन प्रस्ताव गरिएको छ । त्यस्तै सुशासन तथा यससँग सम्बन्धित क्षेत्रमा २ करोड ९ लाख रुपैयाँ र कार्यालय सञ्ञ्चालन तथा प्रशासनिकतर्फ २४ करोड २६ लाख रुपैयाँ हारहारीमा रकम छुट्टिएको छ ।
नदीजन्य पदार्थको उत्खनन् सम्बन्धी ठेक्कालाई समयमा नै विवादरहित एवम् पारदर्शी तवरबाट लगाउन सकिएमा यसबाट प्राप्तहुने राजस्वमा उल्लेखनिय सुधार हुनेमा दुइमत नहुने बताइएको छ । नदी जन्यपदार्थको विक्री वितरणबाट करिव ३ करोड रुपैयाँ तथा घरजग्गा रजिस्ट्रेसनबाट समेत आयहुने अनुमान गरिएको छ ।
संघीय सांसद् विश्वप्रकाश शर्माले प्रमुख आतिथ्यमा नगर सभाको तेस्रो अधिवेशन उद्घाटन गरिएको थियो । जामुनको विरुवा रोपेर उद्घाटन भएको नगरसभामा नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले कार्यक्रमको अध्यक्षता गर्दै नगरपालिकाको दोस्रो नगर सभाको तेस्रो अधिवेशनको प्रथम वैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
नगरकार्यपालिका सदस्य एवम् वडानम्बर २ का वडाध्यक्ष दीपक वरालले सञ्चालन गर्नुभएको उद्घाटन सत्रमा कोशी प्रदेशसभा सदस्यहरु गोपाल तामाङ्ग, सविना बजगाईँ, नेकपा एमाले मेचीनगर कमिटि इञ्चार्ज चन्द्र प्रसाई, नेपाली काँग्रेस मेचीनगर समिति सभापति सुदय पनेरु, नेकपा माओवादी केन्द्र मेचीनगर अध्यक्ष राजन चिमरिया, राष्ट्रिय स्वतन्त्र पार्टी मेचीनगर अध्यक्ष कमल गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टीका मेचीनगर सचिव विशालकृष्ष्ण बास्तोला मेचीनगर अध्यक्ष हरिप्रसाद तिम्सिनालगायतले शुभकामना मन्तब्य राखेका थिए ।
अर्जुनधाराको बजेट ७६ करोड
झापाको अर्जुनधारा नगरपालिकाले आगामी आर्थिक वर्ष ०८०/०८१को लागि अनुमानित ७६ करोड ११ लाख ८० हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम आइतबार सम्पन्न १३औं नगरसभामा पेश गरेको छ ।
स्थानीय सरकार सञ्चालन ऐन्, २०७४ले आगामी आर्थिक वर्षको राजश्व र व्यय (बजेट)को अनुमान कार्यपालिकाबाट स्वीकृत गराई असार १० गतेभित्र सभामा पेश गर्नुपर्ने प्रावधान अनुसार उक्त बजेट सभामा पेश गरिएको हो ।
नगर प्रमुख एवम् सभाका सभाध्यक्ष बलदेवसिंह गोम्देन तामाङको अध्यक्षतामा आयोजित सभामा उपप्रमुख एवम् बजेट तर्जुमा उपसमितिकी संयोजक खड्गमाया पराजुलीले उक्त बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।
विनियोजित बजेटमध्ये नेपाल सरकारबाट हस्तान्तरित सशर्त कार्यक्रमतर्फ २८ करोड ३० लाख रुपैयाँ, नेपाल सरकारबाट हस्तान्तरित समपुरक अनुदानतर्फ ९० लाख रुपैयाँ, नेपाल सरकारबाट हस्तान्तरित विशेष अनुदानतर्फ एक करोड ४५ लाख रुपैयाँ, प्रदेश सरकारबाट हस्तान्तरित सशर्त कार्यक्रमतर्फ दुई करोड ४८ लाख ७५ हजार रुपैयाँ, प्रदेश सरकारबाट हस्तान्तरित समपुरक अनुदानतर्फ एक करोड ३० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
त्यसैगरी विभिन्न कोषहरुतर्फ छ करोड ७० लाख रुपैयाँ, भूमी व्यवस्थापन सम्बन्धी कार्यक्रमहरुतर्फ ४५ लाख रुपैयाँ, नगर गौरवका आयोजनाहरु एक करोड १३ लाख रुपैयाँ, पूर्वाधार विकास सम्बन्धी कार्यक्रमहरुतर्फ दुई करोड ५५ लाख रुपैयाँ, सामाजिक विकास सम्बन्धी कार्यक्रमहरु चार करोड ५५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
यसैगरी आर्थिक विकास सम्बन्धी कार्यक्रमहरुतर्फ एक करोड ८७ लाख रुपैयाँ, वातावरण तथा विपद् व्यवस्थापन सम्बन्धी कार्यक्रमहरुतर्फ ७५ लाख रुपैयाँ, सुशासन तथा संस्थागत विकास सम्बन्धी कार्यक्रमहरुतर्फ ७८ लाख रुपैयाँ, वडास्तरिय योजनाहरु नौ करोड ९० लाख रुपैयाँ, प्रशासनिक खर्चतर्फ १३ करोड पाँच हजार रुपैयाँ विनियोजन गरिएको छ ।
सभाको अर्को बैठक यही असार १३ गते दिनको २ बजे सञ्चालन हुने सभाका सभाध्यक्ष एवम् प्रमुख तामाङले जानकारी दिए ।
बाह्रदशीको वजेट४९ करोड ८८ लाख
बह्रदशी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ ल लागि ४९ करोड ८८ लाख ४० हजार ६ सय रुपैयाँ बरावरको वजेट सार्वजनिक गरेको छ ।
समृद्ध बाह्रदशीको आधार, कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार भन्ने मूल नाराका साथ गाउँपालिकाको तेह्रौं गाउँसभाले बजेट सार्बजनिक गरेको हो । गाउँपालिका अध्यक्ष देविन्द्र प्रसाद चम्लगाईले गाउँसभाबाट विनियोजित बजेट सार्वजनिक गरेका थिए ।
गाउँपालिकाले सार्बजनिक गरेको बजेटमा गाउँपालिकाको चालू तथा प्रशासनिक खर्च ६ करोड ९७ लाख ३० हजार रुैियाँ, ७ वटै वडाको चालू तथा प्रशासनिक खर्च २ करोड २४ लाख, शिक्षा शाखा तर्फको प्रशासनिक खर्च तीन लाख ४० हजार, स्वास्थ्य शाखा तर्फको प्रशासनिक खर्च ६ लाख ४२ हजार , कृषि शाखा तर्फको प्रशासनिक १ लाख २० हजार, पशुपक्षी शाखा तर्फको प्रशासनिक खर्च एक लाख २० हजार, आयुर्वेद शाखाका लागि १ लाख २० हजार प्रशासनिक खर्च छुट्याइएको छ ।
आर्थिक विकासतर्फ ११ करोड ९० लाख , संस्थागत तथा क्षमता विकास तर्फ ५४ लाख , सामाजिक विकास तर्फ ४ करोड २७ लाख ५० हजार रुपैयाँ वजेट विनियोजन गरिएको छ । वन वातावरण÷ विपद व्यवस्थापनका लागि १८ लाख र भौतिक पूर्वाधार विकास तर्फ ३ करोड २५ लाख ५० हजार रुपैयाँ वजेट विनियोजन भएको हो ।
गाउँपालिका उपाध्यक्ष शान्ता देवी शिवाकोटी खरेलले बजेट तथा कार्यक्रम तर्जुमा विषयमा धारणा राखेको कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष महताव आलमले राखेका थिए । समसामयिक विषयमा सभाको सून्य समय सदस्यहरू बिजय अधिकारी, गंगाराम धिताल, युवराज ढकाल, हेमलाल दाहाल र जय तिम्सिनाले धारणा राखेका थिए ।
आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम अध्यक्ष देबिन्द्र प्रसाद चम्लागाईले सभामा प्रस्तुत गरेका थिए । गांगाराम धिताल र यूवराज ढकालले अध्यक्षले प्रस्तूत गरेको नीति तथा कार्यक्रम माथि धाराणा रखेका थिए ।
गाउँपालिका उपाध्यक्ष शान्ता देवी शिवाकोटीले बजेट तथा कार्यक्रम तर्जुमा विषयमा धारणा राखेकी थिइन् । कार्यक्रमको सहजीकरण प्रमुख प्रशासकीय अधिकृत सोमराज थापा र योजना अधिकृत तेजप्रसाद रेग्मीले गरेका थिए ।
हल्दिबारी गाउँपालिकाद्धारा ४७ करोड ७४ लाख
झापाको हल्दिबारी गाउँपालिकाको १५ औ गाउँसभाले आर्थिक बर्ष २०८०/०८१ का लागि ४७ करोड ७४ लाख ३० हजार चास सय रूपैयाँको बजेट प्रस्तुत गरेको छ । कोशी प्रदेश सभा ३ (२) का सदस्य छबिलाल चुडालको प्रमुख आतिथ्यमा भएको गाउँसभाले आइतबार उक्त बजेट सार्वजनिक गरेको हो ।
हल्दिबारी गाउँपालिका अध्यक्ष सभाअध्यक्ष रबिन्द्र लिङ्देनले सभा सञ्चालन गरेका हुन्। गाउँसभाको १५औ पहिलो बैठकमा बजेट तथा कार्यक्रम तर्जुमा समिति सदस्य तथा हल्दिबारी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी मैनालीले सभामा बिनियोजन विधियक २०८० सभामा पेश गरेकि थिईन ।
हल्दिबारी गाउँपालिकाले आगमी आर्थिक वर्ष २०८०/०८१ को लागि ४७ करोड ७४ लाख ३० हजार चास सय रूपैयाँको अनुमानित बजेट सभामा उपाध्यक्ष लक्ष्मी देबि मैनालीले प्रस्तुत गरेकी छिन्।
गाउँपालिकाको चालु आर्थिक वर्ष ०७९/०८० मा ४६ करोड ४३ लाख ४४ हजार ६७० रूपैयाँको अनुमानित बजेट रहेकोमा आगामी आर्थिक वर्षका लागि १ करोड ३० लाख ८५ हजार सात सय तीस रुपैयाँ बढी बजेट ल्याएको छ ।
नीति तथा कार्यक्रम र बजेट माथिको छलफलको लागि असार १३ गते बिहान ११ बजे बैठक बस्नेगरी पहिलो बैठक समापन भएको छ।
गौरीगञ्ज गाउँपालिका: कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा पढाउनु पर्ने
गौरीगज गाउँपालिकाको १३ औ गाउँसभाबाट आ.व. २०८०/८१को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । गौरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले आ. व. २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।
२०८०/८१ देखि गाउँपालिका भरिका सामुदायिक विद्यालयप्रति आम अभिभावकको भरोसा जोगाउन गाउँपालिका भित्रका सम्पूर्ण शिक्षक, कर्मचारी एवं सार्वजनिक पद धारण गरेका व्यक्तिहरूका छोरोछोरीलाई माध्यमिक तहसम्म सामुदायिक विद्यालयमा पठनपाठन गराईने कार्यलाई कार्यान्वय गरिने छ । गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने कुवँरले वार्षिक वजेट तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।
Discussion about this post