विराटनगर । नेकपा (एमाले) ले कोशी प्रदेशमा ठूलो दलको सरकार गठनका लागि प्रक्रिया थाल्न माग गरेको छ । आफू नेतृत्वको सरकार ढलेपछि उसले यस्तो माग गरेको हो ।
प्रदेश प्रमुख पर्शुराम खापुङलाई भेटेर शुक्रबार एमाले प्रतिनिधिमण्डलले ठूलो दलको सरकार गठनको प्रक्रिया अघि बढाउन आग्रह गरेको छ । एमालेले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम नयाँ सरकार गठनको प्रक्रिया थाल्न आग्रह गरेको हो ।
उपधारा ३ मा प्रदेशसभामा सबैभन्दा ठूलो (सबैभन्दा बढी सदस्य भएको) दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।
अल्पमतमा परेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार प्रदेशसभाबाट बहुमत पाउन सकेनन् । ९३ सदस्यीय प्रदेशसभामा मतको प्रस्तावको पक्षमा ४६ र विपक्षमा ४३ मत परेको थियो । मतदानमा ८९ प्रदेशसभा सदस्य उपस्थित थिए ।
प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेपछि कार्कीसहित एमालेका प्रदेशसभा सदस्यहरु प्रदेश प्रमुख खापुङलाई भेट्न पुगेका थिए ।
सरकार गठनमा संविधानको धारा १६८ को उपधारा २ प्रयोग भइसकेको भन्दै अर्को प्रावधानअनुसार सरकार गठनको प्रक्रिया थाल्न एमालेले भनेको हो ।
कार्की नेतृत्वको सरकार उपधारा २ अनुसारै गठन भएको थियो । तर एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले भने सरकार गठनमा उपधारा २ यसअघि नै प्रयोग भइसकेको उल्लेख गर्दै अब उपधारा ३ अनुसार सरकार गठनको आह्वान हुनुपर्ने आग्रह गरिएको बताए ।
संविधानको धारा १६८ को २ मा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।
नेकपा (माओवादी) र जनता समाजवादी पार्टी (जसपा) ले समर्थन फिर्ता लिएपछि कार्की नेतृत्वमा रहेको सरकार अल्पमतमा परेको थियो ।
Discussion about this post