धरान । कोशी राजमार्गअन्तर्गत धरान प्रवेश क्षेत्रमा शिरीषका बिरुवा रोपिएको छ । रोयल इस्टर्न इन्फिल्डर्स क्लबले कोशी राजमार्गको धरान प्रवेश क्षेत्र सेउतीखोलादेखि तीनकुनेसम्म सडकको दायाँबायाँ शिरीष जातको रुखका विरुवाहरु रोपेको छ ।
क्लबका अध्यक्ष योगेन राईका अनुसार सडक किनारामा ४ सयभन्दा बढी शिरीषका बिरुवा रोपिएको छ ।
रातो र नीलो फुल्ने शिरीषका बिरुवाहरु विभिन्न नर्सरीबाट ल्याएर रोपिएको अध्यक्ष राईले जानकारी दिए । पूर्वको रमणीय सहरका रुपमा परिचित धरानलाई थप रमणीय र सुन्दर बनाउन शिरीषका विरुवा रोपिएको उनले बताए ।
एक महिना अघिदेखि बिरुवा रोप्न सुरु गरेको क्लबले बिरुवा रोपिसकेपछि गोडमेल तथा घेराबारा समेत सम्पन्न गरेको छ । धरान प्रवेशको मुख्य सडकको रुपमा रहेको कोशी राजमार्गमा धरान प्रवेश गर्ने पाहुनाहरुलाई शिरीषको फूलले स्वागत गर्ने क्लबका सदस्य एसपजंग रुम्दालीले बताए ।
रोयल इन्फिल्डर्स (बुलेट) बाइक चालकहरुको क्लबको रुपमा रहेको रोयल इस्टर्न इन्फिल्डर्स क्लबले विभिन्न सामाजिक कामहरु गर्दै आइरहेको छ ।
यसअघि क्लबले अन्तराष्ट्रिय बुलेट चालकहरुको क्लबलाई ३ दिने बसाई सहितको पर्यटन प्रवर्द्धन कार्यक्रम धरानमा सम्पन्न गरेको थियो भने विभिन्न विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण, ट्राफिक नियमबारे सचेतना फैलाउनेदेखि विपतको समयमा उद्धारका कार्यहरु गर्दै आएको छ ।
Discussion about this post