विराटनगर । सत्ता गठबन्धनमा आबद्ध दलहरुले कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापालाई प्रस्ताव गर्ने तयारी गरेसँगै नेकपा (एमाले) सरकारमा दाबी गर्दा सभामुखलाई प्रयोग गर्न नमिल्ने जनाएको छ ।
सत्तारुढ गठबन्धनले सभामुखलाई पनि जोडेर कोशी प्रदेश सरकारको नेतृत्वमा दाबी पेश गर्ने तयारी गरेको छ । सभामुखसमेत गरी मात्र सांसदको संख्या बहुमत अर्थात् ४७ पुग्ने अवस्था छ ।
यस्तो गर्न लागिएपछि एमालेले सभामुखको प्रयोग गर्न नमिल्ने बताएको हो । संविधान भन्दा बाहिर गएर गरेको कुराको पालना नहुने भन्दै एमाले संसदीय दलका नेता एवं मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधान मिच्न नपाउने बताएका छन् ।
सरकारको दाबी गर्दा सभामुखको प्रयोग गर्नै नमिल्ने उनको भनाइ छ । संविधान मिच्ने अधिकार कसैलाई नभएको पनि उनले बताए ।
संविधानको धारा १६८ को २ अनुसार एमालेले सरकारमा दाबी नगर्ने उल्लेख गर्दै कार्कीले आज बेलुका ५ बजेपछि १६८ को उपधारा ३ बमोजिम ठूलो दलको नेतृत्वमा सरकार गठनको आह्वान हुने दाबी पनि गरे ।
९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । गठबन्धनमा आबद्ध दलहरुमध्येृ कांग्रेसको २९, माओवादीको सभामुखसहित १३, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ गरी गठबन्धन दलसँग बहुमत दाबी गर्ने सिटसंख्या ४७ छ ।
एमालेको ४० सिट छ भने उसलाई साथ दिएको राप्रपाको ६ सिट छ ।
Discussion about this post