इटहरी । भोजपुरको एकमात्र सरकारी अस्पताल जिल्ला अस्पताल भोजपुरमा देखिएका समस्याहरु समाधान गर्न ‘रिकभर भोजपुर संघर्ष समिति’ ले माग गरेको छ ।
भिन्तुना होटलमा पत्रकार सम्मेलन गर्दै समितिले यस्तो माग गरेको हो ।
जिल्लाभित्र हुने विभिन्न विकृति, विसंगति तथा बेथितिहरु सुधारका लागि रिकभर भोजपुर संघर्ष समिति गठन गरेको संयोजक मायालु मोक्तानले बताए ।
पछिल्लो समय जिल्ला अस्पतालमा देखिएका विभिन्न समस्याहरुलाई सम्बन्धित निकायमा ध्यानाकर्षण गराउँदा सुनुवाई नभएकाले समिति बनाएर अघि बढेको संयोजक मोक्तानको भनाई छ ।
समस्या समाधानका लागि सम्बन्धित निकायमा आग्रह गर्दा बेवास्ता गरिएको साथै सर्वसाधारण जनताले पटक पटक अस्पताल विकास समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमूख कमलथूलूङ्ग राईलाई ध्यानाकर्षण गराउँंदा ‘चूनाव लडेर आइ आफैँ सुधार गर्नु’ जस्ता गैरजिम्मेवार अभिव्यक्ति दिइ जिल्ला समन्वय समितिका प्रमूख जस्तो गरिमामय पदको दुरुपयोग गरेको जनाइएको छ ।
अस्पतालमा देखिएका समस्याका विषयमा समितिले विज्ञप्ति मार्फत् सुधार गर्न सम्वन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
अस्पतालमा जडान भएको सघन उपचार कक्ष (आइसियु) सेवा सञ्चालनमा आउन नसक्दा बिरामीहरुले महँगो शुल्कमा अन्यत्र गएर उपचार गराउनु पर्ने बाध्यता रहेको जनाइएको छ ।
चौबीसै घण्टा डाक्टर मार्फत सेवा पाउने व्यवस्था मिलाउनु पर्नेमा एचए, अहेब मात्र उपस्थित हुने गरेको डाक्टरको अनुमतिमा दिने औषधि प्रयोगमा समस्या देखिएको र ठेक्कामार्फत् ढुवानी हुने औषधिहरु समयमा नआउँदा निःशुल्क र कम मूल्यमा पाइने औषधि पनि पसलहरुमा किन्नु पर्ने बाध्यता रहेको समितिले जनाएको छ ।
दरवन्दी अनुसारका स्वास्थ्यकर्मीहरुको व्यवस्थापन गर्दै देखिएका समस्याहरु तत्काल समाधान नगरिए आन्दोलनका थप कार्यक्रम गर्न बाध्य हुने समितिले चेतनावनी दिएको छ ।
यसैबीच समितिले प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे र जिल्ला अस्पताल भोजपुरका कार्यलय प्रमुख डा. शिवजी रिजाललाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
प्रमुख जिल्ला अधिकारी घिमिरेले समस्या समाधानका लागि पहल गरिने प्रतिबद्धता जनाएका छन् ।
यस्तै, डा. रिजालले पनि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्व्य समितिका प्रमुख कमल थुलुङ्ग राईलाई जानकारी गराई यथाशीघ्र माग सम्बोधन गरिने बताएको समितिले जनाएको छ ।
भोजपुरमा ५० शैया क्षमताको अस्पताल भए पनि जनशक्ति अभावमा सहज सेवा प्रवाह हुन सकेको छैन ।
Discussion about this post