काठमाडौं। वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिने नेपालीहरुको सङ्ख्यामा वृद्धि भएको छ।
चालु आर्थिक वर्षको असार १६ गतेसम्म श्रम स्वीकृति लिनेको संख्या करिब ७ लाख ४० रहेको वैदेशिक रोजगार विभागले जनाएको छ।
गत आर्थिक वर्षमा ६ लाख ३० हजार जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए।
वैदेशिक रोजगारीका लागि नेपालीहरु सबैभन्दा धेरै मलेसिया तथा खाडी मुलुक जाने गरेका छन्।
चालु आर्थिक वर्षको असार १६ गतेसम्म वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या सात लाख ४० हजार पुगेको वैदेशिक रोजगार विभागका सूचना अधिकारी तथा निर्देशक गुरुदत्त सुवेदीले जनाएका छन्।
विभागका अनुसार पछिल्लो समय युरोप जाने नेपालीको सङ्ख्या पनि बढ्दो रहेको छ। वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर क्रोएसिया, साइप्रस, फ्रान्स, पोल्यान्ड, रोमानियाजस्ता युरोपेली मुलुकमा नेपालीहरु जाने गरेका छन्।
श्रम स्वीकृति लिएर प्रत्येक महिना कम्तीमा पनि ६० हजारभन्दा बढी युवाहरु वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पुग्ने गरेको विभागले जनाएको छ।
गत वर्षको फागुनमा वैदेशिक रोजगारमा ६१ हजार आठ सय ४५ जना गएकामा युरोप जानेको सङ्ख्या धेरै छ।
चैतमा ६१ हजार चार सय ७८ युवाले श्रम स्वीकृति लिएका थिए। यस्तै, वैशाख महिनामा ५४ हजारभन्दा बढी युवा विदेश गएको तथ्यांक छ।
असार महिनामा पुनः श्रम स्वीकृति लिएर २१ हजार १७ जना विदेश गएको विभागले जनाएको छ। असारमा नयाँ श्रम स्वीकृति लिनेको संख्या ३३ हजार ४४० छ।
Discussion about this post