विराटनगर । कोशी ब्यारेजको पुलमा शुक्रबार बिहान ट्रक र बस ठोक्किएर दुर्घटना भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३००७ नम्बर ट्रक र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १७६५ नम्बर बस ठोक्किएका हुन् ।
सुनसरीतर्फ कोशी ब्यारेजको पुलमा ठोक्किँदा ट्रक सप्तकोशी नदीमा खसेको छ । यात्रुसहित झापाको काँकडभिट्टाबाट सोलुखुम्बु जाँदै गरेको बससँग ट्रक ठोक्किएको हो ।
पुलबाट खसेको ट्रकलाई सप्तकोशीले बगाएको छ । केही तलसम्म बगाएर लगेको देखिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
सुनसरी प्रहरीका प्रवक्ता डीएसपी राजकुमार राईका अनुसार ट्रक र बस ठोक्किएर दुर्घटना हुँदा कोशी ब्यारेजको १० नम्बर ढोकाको बार भत्किएको छ । बार भत्किएकै ठाउँबाट ट्रक नदीमा खसेको हो । ट्रकमा सवार रहेका ३ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।
उद्धार गरिएकामध्ये ट्रकका चालक २४ वर्षीय दिनेश खत्री सामान्य घाइते भएका छन् । अन्य २ जनाको अवस्था सामान्य छ । प्रहरीका अनुसार बसका सवार यात्रु भने सकुशल छन् । दुर्घटनामा परेको बसलाई कोशी ब्यारेजको पुलबाट बाहिर निकालिएको छ ।
यसैबीच, कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोलाले नदीमा खसेको ट्रकको खोजीमा सक्रिय हुन प्रहरीलाई निर्देशन दिएका छन् । घटनास्थलमा नेपाल तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
Discussion about this post