विराटनगर । कोशी प्रदेशमा सोमबारदेखि ट्राफिक जरिबाना बैंकबाट भुक्तानी गर्न सकिने भएको छ ।
ट्राफिक नियम उल्लंघन गरी सवारीसाधन चलाउने चालक र सवारी धनीले ट्राफिक कार्यालयमै गएर जरिबाना भुक्तानी गर्नुपर्थ्यो । अब भने बैंकबाटै गर्न सकिने बनाइएको हो ।
सुनसरीको इटहरीस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले बैंकमार्फत जरिबाना दाखिला गर्नुपर्ने व्यवस्था मिलाएको हो ।
पहिलो चरणमा विराटनगर, धरान, इटहरी, बिर्तामोड र दमक क्षेत्रभित्र जरिबाना भुक्तानीमा बैंकिङ प्रणाली लागू गरिएको कोशी प्रदेशका ट्राफिक प्रहरी प्रमुख एसपी श्यामकुमार महतोले बताए ।
नियम उल्लंघन गरेवापत ट्राफिक प्रहरीले जारी गर्ने २४ घण्टे पूर्जीमा उल्लेख गरिएको राजस्व वापतको रकम राष्ट्रिय वाणिज्य बैंकमार्फत दाखिला गर्नुपर्ने जनाइएको छ ।
त्यसपछि प्रहरीले कारबाहीका लागि सम्बन्धित व्यक्तिबाट नियन्त्रणमा लिएका कागजपत्र फिर्ता गरिने जानकारी उनले दिए ।
सवारी चालकले नियम उल्लंघन गरेको अभिलेख व्यवस्थित गर्न ‘ट्राफिक भाइलेन्स रेकर्ड सिस्टम’समेत लागू गरिएको एसपी महतोले बताए ।
यो प्रणालीअन्तर्गत अभिलेखमा चालकले पटक–पटक गरेका कसूरको विवरण उल्लेख हुने उनको भनाइ छ । ५ पटकभन्दा बढी सवारी नियम उल्लंघन गर्ने चालकको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) निलम्बन गरिने छ।
Discussion about this post