इटहरी । इटहरीमा लालबहादुर विश्वकर्मालाई न्याय माग्दै प्रदर्शन भएको छ । इटहरी उपमहानगर अगाडि प्लेकार्ड बोकेर सामाजिक अभियन्ता, आफन्त र स्थानीयले प्रदर्शन गरेका हुन् ।
उनीहरुले निर्दोष व्यक्तिलाई फसाउन अदालत नै लागेको भन्दै चर्का नारा लगाएका थिए ।
ढिलो न्याय गर्नु हुँदैन, निर्दोष थुन्न पाइँदैन, लालबहादुर निर्दोष छन्, गरिबलाई न्याय दे जस्ता नारा उनीहरुले लगाएका थिए ।
ठगी तथा बैङ्किङ कसुर मुद्दामा दोषी प्रमाणित गर्दै सुनसरी जिल्ला अदालतले लालबहादुरलाई कारागार चलान गर्ने आदेश गरेको थियो ।
दीपक गजमेरले सञ्चालन गरेको तरहरास्थित सिंहदेवी ज्वेलर्सका कामदार लालबहादुरबाट जिल्ला अदालतले झन्डै ५ करोड भराउन पनि आदेश दिएको थियो ।
जिल्लाले गरेको फैसलाविरुद्ध आफू निर्दोष रहेको भन्दै उच्च अदालत विराटनगरमा गएको एक वर्ष हुन लाग्दा समेत फैसला नभएपछि लालबहादुरको पक्षमा इटहरीमा प्रदर्शन गरेका हुन।
सुनसरी जिल्ला अदालतको आदेशपछि सुनुवाइको पर्खाइमा लालबहादुर ६ महिनाभन्दा बढी समयदेखि रामधुनीस्थित क्षेत्रीय कारागार झुम्कामा छन् ।
उच्च अदालतमा पटक पटक मुद्दा पेशीमा चढेपनि धेरै पटक ‘हेर्न नमिल्ने’ र स्थगित हुने भएकाले लालबहादुरको मुद्दामा सुनुवाइ सरेको सर्यै छ ।
अदालती प्रक्रिया लम्बेतान भएको र लालबहादुर जेलमा बसेको बस्यै गर्नु पर्ने स्थिति आएको भन्दै प्रदर्शनकारीले उनलाई न्याय माग गरेका हुन् ।
उनको मुद्दामा आगामी पेसी साउन १६ गतेलाई राखिएको छ ।
Discussion about this post