काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा विदेश जाने युवाको संख्या ७ लाख ७१ हजारभन्दा बढी युवा वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्षमा अहिलेसम्मकै सबैभन्दा बढी ७ लाख ७१ हजार ३२७ जना श्रमिक श्रम स्वीकृति लिएर विदेश गएका हुन् । यो नयाँ र पुनः श्रम स्वीकृति लिएर जानेहरुको संख्या हो ।
चालु आर्थिक वर्षको गत जेठ महिनामै नौ वर्षअघि वैदेशिक रोजगारीमा जानेको संख्याले बनाएको रेकर्ड तोडेको थियो । जेठसम्म ७ लाख १९ हजार ६७७ जना श्रमिक श्रम स्वीकृति लिएर उडिसकेका थिए ।
असार महिनामा थप ५१ हजार ६५० जनाले श्रम स्वीकृति लिएपछि कीर्तिमानले थप उचाइमा लिएको छ । आर्थिक वर्ष २०७१/७२ मा श्रमिक नयाँ श्रम स्वीकृति र पुरानाको नवीकरण गरेर ६ लाख ९३ हजार ३२ जना श्रमिक विदेश उडेका थिए ।
गत आर्थिक वर्षमा कुल ६ लाख ३७ हजार १३३ जना श्रमिक विदेशिएकोमा यो वर्ष १ लाख ३४ हजार २१४ जना बढीले विदेशमा काम गर्न श्रम स्वीकृति लिएको वैदेशकि रोजगार विभागका प्रवक्ता गुरुदत्त सुवेदीले जानकारी दिए ।
यी तथ्यांकमा भिजिट भिसामा गएर दुबईमा श्रम भिसा लिने र भारतको बाटो भएर वा अध्यागनसँग सेटिङ गरेर श्रम स्वीकृति नलिई युरोपेली देशहरु जानेहरूको संख्या सामेल छैन ।
‘सिजनल वर्कर’का रुपमा कोरिया र बेलायत लगायतका देशमा जाने तथा भारतमै श्रमका लागि जानेहरुको पनि संख्या यसमा छैन ।
विदेशमा घरेलु कामदार पठाउन लागेको रोक नखुल्दा धेरै महिला अवैध बाटो भएर विदेश गइरहेका छन्, यसका कारण महिला श्रमिक अवैध भएर झन् असुरक्षित तवरले विदेशमा काम गर्न बाध्य छन् । सरकारले भारत जानेलाई श्रम स्वीकृति लिनुपर्ने व्यवस्था नगरेकाले रोजगारीका लागि परदेश पुग्ने सबै तथ्यांकमा समेटिएका छैनन् ।
सरकारी तथ्यांकअनुसार आर्थिक वर्ष २०६४/६५ मा २ लाख ४ हजार श्रमिक नयाँ श्रम स्वीकृति लिएर विदेशिएका थिए । त्यसपछि लगातार बढिरहेको विदेशिने युवाको संख्या आर्थिक वर्ष २०७१/७२ मा अहिलेसम्मकै उच्च विन्दुमा पुगेको थियो ।
नयाँ श्रम स्वीकृति लिएर जानेको संख्यामा भने आर्थिक वर्ष २०७०/७१ मा रेकर्ड कायम भएको थियो । सो वर्ष ५ लाख २७ हजार ८१४ जनाले नयाँ श्रम स्वीकृति लिएका थिए ।
महाभूकम्प गएको आर्थिक वर्ष २०७१/७२ मा ५ लाख १२ हजार ८८७ जनाले नयाँ श्रम स्वीकृति लिए पनि पुनः श्रम स्वीकृति लिएर जानेको संख्या उच्च हुँदा कुल संख्यामा रेकर्ड बनेको थियो । सो वर्ष पुनः श्रम स्वीकृति लिएर १ लाख ८० हजार १४५ जना विदेश जाँदा कुल ६ लाख ९३ हजार जना विदेश गएको तथ्यांकमा देखिन्छ ।
Discussion about this post