इलाम । इलामको एक औषधि पसलमा मूल्य नलेखिएको औषधि बेच्ने गरेको पाइएको छ । इलाम अस्पताल नजिकैको दुर्गा मेडिकलमा यस्तो औषधि बेच्ने गरेको अनुगमनका क्रममा फेला परेको हो ।
इलामका सहायक प्रमुख जिल्ला अधिकारी, इलाम नगरपालिका, करदाता सेवा कार्यालय, घरेलु कार्यालय, स्वास्थ्य कार्यालय, जिल्ला प्रहरी कार्यालयको संयुक्त अनुगमनका क्रममा ‘फर हस्पिटल सप्लाई वन्ली’ लेखेको औषधि फार्मेसीमा फेला परेको छ । औषधि अस्पतालमा आएकै औषधि आएको हो या बाहिरबाट आएको भन्नेबारे अनुसन्धान सुरु गरिएको छ ।
उक्त औषधि सपल एउटाका नाममा दर्ता रहेको र अर्कैले चलाएको पाइएको छ । उक्त मेडिकलमा सोमबार ताला लगाइएको छ ।
सञ्चालकलाई बोलाउँदा नआएको र पहिले देखिनै पटक पटक निर्देशन दिँदा पनि नटेरेपछि मेडिकलमा ताला लगाइएको इलामका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर कोइरालाले जानकारी दिए ।
स्वास्थ्य कार्यालय इलामले नेपाल सरकारले तोकेको मापदण्ड पुरा नगरेको हुँदा मेडिकल बन्द गरी इलाम नगरपालिकामा सम्पर्क राख्न निर्देशन दिइएको छ ।
दुर्गा मेडिकल हल दुर्गा कटुवालका नाममा दर्ता भएको छ । कटुवालले पहिले नै मेडिकल बेचेको भने पनि उक्त मेडिकल सञ्चालन भइरहेको छ ।
उनले बेचेको भनेको मेडिकल इलाम अस्पतालका फार्मेसी इन्चार्ज पशुपति चौधरीले चलाइरहेको पाइएको छ । इलाम अस्पतालका फार्मेसी इन्चार्ज चौधरीले चलाइरहेको दुर्गा मेडिकल दुर्गा कटुवालकै नाममा छ ।
यता, पशुपति चौधरीले आफ्नो नाममा दर्ता नभएको र आफूले चलाएको भन्ने प्रमाण कहाँ छ भन्दै उल्टै प्रतिप्रश्न गरेका छन् ।
त्यो मात्र होइन उनले अस्पताल छेउमै पनि अर्को मेडिकल चलाइरहेको बुझिएको छ । उनी मेडिकलमा खासै देखिदैनन् । दुर्गा मेडिकल हलमा ताला लगाएपछि उनले सञ्चालन गरेको अस्पताल छेउको मेडिकलमा समेत बन्द गरिएको छ । अनुगमनको टोली पुग्न नपाउँदै उक्त मेडिकल बन्द गरिएको थियो ।
बिना मुल्यको औषधि बेच्दा करछली समेत हुने गरेको छ । कर छलेर कारोबार गर्ने ब्यवसायीलाई कारबाहीको दायरामा ल्याउन समेत तालाबन्दी गरिएको बताइएको छ ।
इलाम अस्पतालका लागि आएको औषधी मेडिकलमा पुगेको हो या के भएको भनेर अस्पताल स्टोर शाखाका दुर्गा दुलाललाई सोध्दा स्टोरबाट इमरजेन्सीका कर्मचारीलाई औषधि बुझाएका हुन्छौ भन्दै अस्पतालको औषधि मेडिकलमा कसरी पुग्यो भन्ने विषयमा कहिले कसलाई कति औषधि बुझाएको भन्ने रेकर्ड खोजिरहेको बताए । उनले कहिले कसलाई कुन औषधि स्टोरबाट दिएको त्यो तथ्याङ्क सहित निकाल्ने गरी काम थालिसकेको बताए ।
अनुगमनकै क्रममा इलाम सदरमुकाममा सञ्चालित हिमाल डेन्टलमा समेत ताला लगाइएको छ । सो डेन्टल दर्ता बिना नै सञ्चालन गरेको पाइएपछि तालाबन्दी गरिएको स्वास्थ्य कार्यालय इलामकी सूचना अधिकारी रिता अधिकारीले जानकारी दिइन् ।
उनीहरुलाई कागजपत्र सहित स्वयम उपस्थितका लागि आग्रह गरिएको उनको भनाई छ । सोमबार इलाम बजारका ९ वटा औषधि पसल, ३ वटा डेन्टल र एक पोलिक्लिनकमामा अनुगमन गरिएको थियो ।
Discussion about this post