काठमाडौं । नेपाल निर्माण व्यवसायीहरुले सरकारले निर्माण व्यवसायीहरुको माग सम्बोधन नभए देशभर निर्माण कार्य ठप्प पार्ने चेतावनी दिएका छन्। उनीहरुले शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेला भइ निर्माण उपकरणसहित धर्ना दिएका हुन्।
कार्यक्रममा निर्माण व्यवसायीहरुले पूर्ववर्ती सरकारले गरेका गल्तीहरु सच्याएर देश विकासका लागि सरकार सच्चिन आवश्यक रहेको बताए। उनीहरुले बजेट दिन नसक्ने आयोजनाहरु खारेज नगरे देशमा निर्माण व्यवसायीहरुको आन्दोलन थप चर्किने चेतावनी दिए। कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङले रक्षा मन्त्रालय नै ठेक्कापट्टामा लागेको भन्दै रक्षा मन्त्रालयले सुरक्षा व्यवस्था चुस्त बनाउने हो की ठेक्का पट्टामा लाग्ने हो? भन्दै प्रश्न गरे।
उनले सरकारले निर्माण व्यवसायीको माग पूरा नगरे आफूले सांसदको पद त्याग्ने समेत बताए। उनले निर्माण व्यवसायीहरु प्लेकार्डमा मात्रै एकत्रित हुने नभइ जुनसुकै बेलामा एकत्रित हुनुपर्ने बताए। उनले छिटो काम सम्पन्न गर्ने कुरामा सबै निर्माण व्यवसायीहरु लाग्नुपर्नेमा जोड दिए।
बिरोध कार्यक्रममा बोल्दै महासंघका पूर्वअध्यक्ष जयराम लामिछानेले निर्माण व्यवसायीहरु सरकारबाट नै ठगिरहेको आरोप लगाए। उनले सरकारको काम निर्माण व्यवसायीहरुले गरेकाले कामको भुक्तानी सबैभन्दा पहिला गर्नुपर्नेमा जोड दिए।
निर्माण व्यवसायी नेपालको मुहार फेर्ने जमात भएकाले बाटोमा खडा हुने अवस्था बाध्य नबनाउन चेतावनी पनि दिए लामिछानेले सिंहदरबार, बालुवाटार, शितलनिवास निर्माण व्यवसायीहरुले नै निर्माण गरेको भन्दै निर्माण व्यवसायीहरुका माग पूरा गर्न आग्रह गरे।
Discussion about this post