धरान । ‘ग्रीन एण्ड क्लीन धरान’ अभियानमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव ढुंगाना र सुनसरी जिल्ला सभापति तथा इनरुवा नगर प्रमुख केदार भण्डारी सहभागी भएका छन् ।
नगर क्षेत्रलाई स्वच्छ र सफा पार्ने यो अभियान साउन ६ गतेदेखि सुरु भएको हो ।
नेपाली कांग्रेस, सुनसरी क्षेत्र नम्बर १ ले आयोजना गरेको एक महिने ग्रीन एण्ड क्लीन धरान अभियान धरान ८ मा पुग्दा ढुंगाना र भण्डारी सहभागी हुन आएका हुन् ।
केन्द्रीय सदस्य राजीव ढुंगानाले सरसफाई र स्वच्छ वातावरण मानवका लागि अति आवश्यक रहेकाले क्षेत्रीय कार्यसमितिले धरानमा ल्याएको एक घर एक विरुवा रोपौं, सरसफाई गरौं, डेंगु नष्ट गरौं अभियान अत्यन्त सान्दर्भिक रहेको बताए ।
इनरुवा नगर प्रमुख समेत रहेका नेपाली कांग्रेसका जिल्ला सभापति केदार भण्डारीले धरान डेंगु संक्रमण बढिरहेकाले सर्च एण्ड डिस्ट्रोय अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
धरानलाई सुन्दर, सफा र हरियाली बनाउन क्षेत्रीय समितिले आयोजना गरेको ग्रीन एण्ड क्लीन धरान अभियानमा पार्टीका सबै तह र तप्का लाग्नुपर्ने बताउँदै उनले अभियानलाई सफल बनाउन आग्रह गरे ।
क्षेत्रीय सभापति सुजेन्द्र तामाङले पार्टीका माथिल्लो तहका नेताहरु समेत सहभागी भईदिंदा हौसला र उत्साह थपिएको बताउंदै धरानले झेलिरहेको डेंगु महामारीलाई उन्मूलन गर्न राज्यको प्रयास पर्याप्त हुन नसकेको भन्दै अब पार्टी, नागरिक समाज, सामाजिक संघसंस्था र नागरिक आफैपनि सचेत भएर लाग्नुपर्ने बताए ।
नेपाली कांग्रेसको एक महिने ग्रीन एण्ड क्लीन धरान अभियान भदौ १० गतेसम्म सञ्चालन हुने सभापति तामाङले जानकारी दिए ।
Discussion about this post