विराटनगर । कोशी प्रदेशको नाम खारेजलगायत माग राख्दै गरिएको बन्द आह्वानका कारण सोमबार केही जिल्लाको जनजीवन प्रभावित भएको छ । कोशी नाम खारेजी र लिम्बुवान राज्यको घोषणालगायत माग राख्दै राष्ट्रिय जनमुक्ति सहितका दलले बन्द आह्वान गरेका हुन् ।
बन्दका कारण कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, इलाम, धरान, धनकुटालगायत स्थानको जनजीवन प्रभावित बनेको हो ।
ती स्थानमा यातायातका साधन चल्न दिइएको छैन । बजार र शैक्षिक संस्थाहरु पनि प्रभावित बनेका छन् ।
वि.सं. १८१४ साउन १८ गतेको लिम्बुवान र गोर्खा राज्यबीच भएको ताम्रपत्र सन्धिलाई लत्याउँदै १८३१ साउन २२ गते भएको लालमोहर सन्धि धोकापूर्ण भएको भन्दै ती दलले २०६६ सालदेखि साउन २२ गते बन्द आह्वान गर्दै आएका छन् ।
उनीहरुले अरुण पूर्वका नौ जिल्ला ताप्लेजुङ, पाँचथर, इलाम, झापा, तेह्रथुम, धनकुटा, संखुवासभा, सुनसरी र मोरङ लिम्बुवान रहेको र लिम्बुवान राज्य घोषणा गर्नुपर्ने माग गर्दै आएका छन् ।
जनमुक्ति पार्टीका साथै संघीय लिम्बुवान पार्टी, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी, लिम्बुवान राष्ट्रिय समिति (लोसपा) किराँत खम्बुवान राज्य परिषद्, किरात लिम्बुवान राज्य परिषद् र लिम्बुवान राष्ट्रिय मोर्चाले संयुक्त रुपमा बन्द आह्वान गरेका हुन् ।
अरुण पूर्व लिम्बुवान राज्य नभएसम्म हरेक वर्षको साउन २२ गते यसरी नै बन्द रहने जनाइएको छ ।
Discussion about this post