इलाम । इलाम नगरपालिका वडा नम्बर ८ का जनप्रतिनिधिले नागरिकका घरघरमा पुगेर स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् । वडाले गरिब, अशक्त, स्वास्थ्य संस्था पुग्न नसकेर घरमै थला परेका नागरिकका घरघरमा पुगेर स्वास्थ्य परीक्षण गरिरहेको हो ।
दीर्घ रोगले थला परेका नागरिकका लागि घर घरमा पुगेर स्वास्थ्य उपचार गर्ने अभियान सुरु गरिएको हो । वडाले एक हस्तासम्म एउटा अभियानै चलायो । अभियानमा स्वास्थ्य उपचारमा सहज पहुँच पुग्न नसक्ने परिवारलाई यो कार्यक्रमले निकै फाइदा पुग्यो ।
वडाध्यक्ष दलमान तामाङ बिहानदेखि बेलुकासम्म जनताको घरघरमा पुगेर सो सेवा प्रदान गर्न तलिल्लन रहे । पहिलो चरणमा पाँच सय परिवारमा पुगेर सेवा प्रदान गरेको र अब पुन यो अभियान सञ्चालन गरिने उनको भनाई छ ।
नेपाल प्रहरीमा दुई दशक बिताएका वडाध्यक्ष तामाङ निर्वाचित भएदेखि नै यसरी सेवामा लागेका छन् । बिहान ६ बजेदेखि बेलुकासम्म उनी खट्ने गरेका छन् ।
वडा सदस्यहरुसमेत सक्रिय छन् । स्वस्थ्यकर्मीसहित वडाका जनतालाई कार्यालयले सेवा प्रदान गरिरहेको उनले बताए ।
स्थानीय भिमा लिम्बुले जनप्रतिनिधिको सक्रियताले धेरै मद्दत पुगेको बताउँछिन् । ‘समस्या परेका हरेक मान्छेको घरमा पहिले वडा अध्यक्ष नै पुग्नुहुन्छ, वडाले साँच्चैको जनप्रतिनिधि पाएको छ’ उनले भनिन् ।
उनी जस्ता धेरैले वडाको हालको कार्यको तारिफ गर्ने गरेका छन् । जनप्रतिनिधि भनेको जनताको काम गर्न नै भएकाले यसरी काममा लाग्ने गरेको वडासदस्य रुपेन खड्काले बताए ।
हाल दीर्घरोगीको स्वास्थ्य मात्र हैन पशुमा लाग्ने लम्पि स्कीन रोगका कारण जनताका गाईमा समस्या हुँदा पनि जनप्रतिनिधिले सक्रियता देखाएका थिए ।
पशु चिकित्सकसहित गाईगोठमा पुगेर सो महामारीबाट पशुलाई बचाउन वडाका प्रतिनिधिले स्थानीय बासिन्दालाई सहयोग गरिरहेका छन् ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले वडा अध्यक्षलाई २९ प्रकारका सिफारिससहित विकास र नागरिकको सेवा सम्बन्धी विभिन्न अधिकारहरू प्रदान गरेको छ ।
वडा कार्यालयमा बसिरहने भन्दा नागरिकका समस्या समाधानमा लाग्न गाउँ घुम्नु पर्ने जनप्रतिनिधिहरुको छ ।
इलाम नगरपालिका ८ मा करिब सात हजार जनताको बसोबास छ । तीमध्ये करिब दुई हजारलाई प्रत्यक्ष भेटेर स्वास्थ्य सेवा वडाले प्रदान गरेको जनाएको छ ।
दीर्घ रोगले थला परेका नागरिकका लागि जिल्लामै पहिलो पटक घर घरमा पुगेर स्वास्थ्य उपचार गर्ने अभियान सुरु भएको हो । पहिलो चरणको अभियानमा २० वर्षदेखि ओछ्यानमा थलिएका रोगीहरुलाई उपचारमा सहजीकरण गरिएको वडाध्यक्ष तामाङको भनाई छ ।
एक महिनापछि पनि यस्तै अर्को अभियान सञ्चालन गर्ने तयारी रहेको उनी बताउछन् । नयाँ कार्यक्रम सहित नागरिकको घरघरमा जाने वडाको लक्ष रहेको उनले बताए ।
Discussion about this post