विराटनगर । संखुवासभा जिल्ला कारागार खाँदबारीमा सुरक्षा घेराभित्र दुईजना कैदीको मृत्यु भएको छ । यो घटनामा वास्तविकता लुकाउने चलखेल भएको छ ।
प्रहरीको कुटाइले कैदीको मृत्यु भएको आरोप लागेको छ । कारागारका अन्य कैदी बन्दी र स्थानीय प्रत्यक्षदर्शीले प्रहरीको कुटपिटका कारण उनीहरुको मृत्यु भएको बताएका छन् ।
स्थानीय प्रशासन र प्रहरीले भने कैदी बन्दीबीच झडप हुँदा दुईजनाको मृत्यु भएको बताइरहेका छन् । यही अनुसारको विवरण उनीहरुले सार्वजनिक गरेका छन् ।
घटनापछि प्रहरीविरुद्ध कारागारभित्रका अन्य कैदी बन्दीले नाराबाजी र प्रदर्शन गरेका छन् । दोषी प्रहरीमाथि कारबाही हुनुपर्ने माग राखेर कैदी बन्दीले नाराबाजी गरेका हुन् ।
प्रहरीविरुद्ध नाराबाजी र प्रदर्शन तथा ढुंगामुडा गर्ने नौजना कैदी बन्दीलाई कारागारबाट निकालेर जिल्ला प्रहरी कार्यालयमा लगिएको छ । संखुवासभाका प्रहरी प्रमुख डीएसपी वीरेन्द्र गोदारको निर्देशनमा उनीहरुलाई जिल्ला प्रहरीमा पु¥याइएको जनाइएको छ ।
घटनालाई सामसुम पार्न खोजिएको आरोप कैदी बन्दीले लगाएका छन् । कारागारबाट भाग्न खोजेको भन्दै सादा पोसाकमा चार–पाँच जनाको संख्यामा रहेका प्रहरीले दुई जनालाई कारागार भित्रै बुधबार बिहान कुटपिट गरेको स्रोतले बताएको छ ।
कुटपिटकै कारण दुवै जनाको कारागारभित्रै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् । मृत्यु भइसकेपछि उपचारका लागि भनेर अस्पताल लगिएको थियो ।
प्रहरी स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालयमा राखिएका नौ जनालाई कारागारभित्र बन्दीबीच झडप भएर घटना भएको हो भन्न बाध्य पारिएको छ ।
कारागारका निमित्त जेलर राजेन्द्र घिमिरेले भने कैदीको मृत्यु भएपछि कारागारको अन्तरिक सुरक्षालाई मध्यनजर गर्दै नाइकेसहितका बन्दीलाई जिल्ला प्रहरीमा लगिएको बताए ।
जेल तोडेर भाग्ने प्रयास गरेपछि नियन्त्रणमा लिएर प्रहरीले कैदीलाई कुटेको कुरा आएको उल्लेख गर्दै उनले बन्दीबीच कारागारभित्र झडप भएर घटना भएजस्तो देखिएको दाबी गरे ।
खाँदबारी बजारको बस्तीभन्दा कारागार तल पर्छ । माथिका घरहरुबाट कारागारको कम्पाउण्डभित्र भएका गतिविधि प्रष्टै देखिन्छ । कारागारको कम्पाउण्डबाट ऐया–ऐया भनेर कराएको आवाज आएको आसपासका बासिन्दाले बताएका छन् ।
खाँदबारी कारागारमा कैदी भुक्तान गरिरहेका संखुवासभाको मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको बुधबार बिहान मृत्यु भएको हो ।
अदालतले जबरजस्ती करणी मुद्दामा तोलाङ्गीलाई १८ वर्ष र चोरी मुद्दामा बलामीमा ३ वर्ष कैद सजायको फैसला गरेको थियो । दुवै जना १ वर्षदेखि कारागारमा थिए ।
डीएसपी गोदारले भने उपचारका क्रममा खाँदबारी अस्पतालमा दुवै जनाको मृत्यु भएको दाबी गरेका छन् । भाग्नलाई राति १ बजेतिर शौचालयको झ्यालको रड काटेर उनीहरु कम्पाउण्डमा निस्किएपछि प्रहरीले नियन्त्रणमा लिएर कारागार प्रशासनको जिम्मा लगाएको उनले बताए ।
कारागारको सुरक्षामा असइ (सहायक निरीक्षक) को नेतृत्वमा टोली परिचालित रहेको उनको भनाइ छ ।
घटनापछि मृतकका केही आफन्त पनि खाँदबारी पुगेका छन् । अस्पताल पु¥याउँदा एक जनाको ढुकढुकी मात्रै रहेको र अर्काको मृत्यु भइसकेको स्रोतले जानकारी दिएको छ ।
प्रहरीले भने उपचारका क्रममा उनीहरुको मृत्यु भएको झूटो विवरण सार्वजनिक गरिरहेको स्रोतको भनाइ छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी ऋषिराम कँडेलले भाग्न खोजेका बन्दीलाई नियन्त्रणमा लिएपनि प्रहरीले कुटपिट गरेको जानकारी नआएको बताए । ाग्न खोजेको विषयलाई लिएर कैदी बन्दीबीच नै कुटाकुट भएको हुनसक्ने कँडेलले बताए । घटनामा प्रहरीको लापरबाही र कमजोरी देखिए कारबाही हुने उनको भनाइ छ ।
Discussion about this post