काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवम् अर्थमन्त्री प्रकाशशरण महतले सुन तस्करीमा आफ्नो संलग्नता रहेको पुष्टि भए तत्कालै पदबाट राजीनामा दिन तयार रहेको बताएका छन् ।
आफूमाथि व्यक्तिगत प्रहार गर्ने गरी लान्छना लगाउने काम भएको भन्दै उनले असन्तुष्टि जनाएका छन् ।
पार्टीको संसदीय दलको बैठकमा बोल्दै अर्थमन्त्री महतले पार्टी, संसद् र सडकबाट आफूमाथि अनावश्यक प्रश्न उठाएर लान्छना लगाउने काम भएको भन्दै असन्तुष्टि पोखेका हुन् ।
राजस्व प्रशासनमा आफूले सकेसम्म कुनै पनि कमी कमजोरी नहुने गरी व्यवस्थापन गरिरहेको बताए । उनले भने, ‘एउटा संस्कारमा हुर्किएर आएको मान्छे हुँ । ममाथि व्यर्थको लान्छना लगाउने काम भयो । यो ममाथि भएको व्यक्तिगत प्रहार हो । ममाथि अनावश्यक शंका गर्ने र त्यही विषयलाई लिएर प्रचार गर्ने काम भयो,ु तपाइँहरू नै भन्नुस्, अलिकति पनि तपाइँहरूलाई लाग्छ कि यो पदमा बसेर मैले गलत गरेँ भन्ने हो र प्रमाण दिनुहुन्छ भने म अहिले देखि नै यो ठाउँमा बस्दिनँ ।’
उनले पार्टीभित्र हरेकलाई अनुशासनको दायरा लागू हुने र कसैलाई आफू मन नपरेकै कारण आफूमाथि व्यक्तिगत लान्छना लगाउने र होच्याउने गरी काम नगर्न आग्रह गरे ।
Discussion about this post