काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सबै मिलेर अर्थतन्त्र खत्तम भयो भन्ने भाष्य बनाउँदा मानिस खर्च गर्न र ऋण लिन डराइरहेको बताएका छन् । मंगलबार आन्तरिक राजस्व विभागले आयोजना गरेको व्यवस्थापन गोष्ठीमा बजारमा पैसा पर्याप्त भए पनि अर्थतन्त्र खत्तम भयो भन्ने भाष्यको प्रचार हुँदा मानिसले खर्च गर्न र ऋण लिन डराएको उनले बताए ।
निजी क्षेत्रले सम्पूर्ण रूपमा खराब छ भन्न नहुने उनको तर्क छ । ‘अहिले अर्थतन्त्र सकारात्मक गतिमा छ, ब्याज घटिरहेको छ,’ अर्थमन्त्री महतले भने, ‘सकारात्मक गतिमा गइरहेको अर्थतन्त्रलाई सधैं नकारात्मक भन्नु हुँदैन, हामी सकारात्मक दिशामा जानुछ, जानुपर्छ । यसो गर्न सक्दा मुलुक राम्रो गतिमा जान सक्छ ।’
अर्थमन्त्री डा. महतले देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्व बलियो बनाउने नीतिमा सरकार अघि बढेको समेत बताए । डा. महतले आयातमा आधारित राजस्व प्रणाली दिगो नहुने भएकाले सरकारले उत्पादन बढाउने कार्यक्रम ल्याएको समेत दाबी गरे । आन्तरिक उत्पादन बढाउन संरक्षण गर्ने सरकारको नीतिको किसानहरूले स्वागत गरेको उल्लेख गर्दै उनले यसबाट कोही पनि आतंकित नहुन आग्रह गरे ।
चालु आर्थिक वर्षका लागि लिइएको राजस्वको लक्ष्य पूरा हुने उनको विश्वास छ । गतवर्ष विविध कारणले लक्ष्य पूरा नभए पनि यो वर्ष अर्थतन्त्रमा सुधारका संकेत देखिएको र यसले गर्दा राजस्व संकलन बढ्ने उनले बताए ।
अर्थमन्त्री महतले भने, ‘कर तिर्नेको सङ्ख्या थोरै छ, कर तिर्नुपर्नेको सङ्ख्या धेरै छ । उनीरूलाई करको दायरामा ल्याउनुपर्छ ।’
Discussion about this post