केदार बस्नेत
धरान । धरानमा महामारीको रुपमा फैलिएको डेंगु नियन्त्रण तथा बिरामीको उपचारका लागि धरानका राजनीतिक दलहरुले प्रदेश सरकारसँग सहयोग माग गरेका छन् ।
धरानका राजनीतिक दलले शनिबार कोशी प्रदेश सरकारलाई विराटनगर पुगेर संयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाएका छन् । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई ध्यानाकर्षण पत्र बुझाउदै डेंगु नियन्त्रण तथा विरामीको उपचारका लागि आवश्यक सामग्री तथा औषधि सहयोगका लागि माग गरेका छन् ।
धरान उपमहानगरपालिकाले डेंगु संक्रमण नियन्त्रणकालागी प्रभावकारी अभियान सञ्चालन गर्न नसकेको भन्दै प्रदेश सरकारले तत्काल काम गर्ने आशामा राजनीतिक दल रहेको नेपाली कांग्रेस धरानका सभापती श्याम पोखरेलले बताए ।
धरानबाट गएको राजनीतिक दलको टोलीले मुख्यमन्त्री उद्धव थापा, स्वास्थ्य मन्त्री निर्मला तावा तथा प्रमुख प्रतिपक्षी दलका नेता हिक्मत कार्कीलाई ध्यानाकर्षण पत्र बुझाएका थिए । प्रदेश सरकारले डेंगु नियन्त्रणकालागी धरानमा स्वास्थ्यकर्मीहरु खटाएको र स्वास्थ्य सामाग्री दिइरहेको बताउदै मुख्यमन्त्री थापाले मन्त्रीपरिषदको बैठकबाटै सम्बोधन गरिने बताए ।
नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एसले ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
धरानमा हालसम्म २ वालवालिकासहित ११ जनाको मृत्यु भएको छ । १७ हजार १०३ जनाको स्वास्थ्य परिक्षण गरिएकोमा डेंगुबाट संक्रमितको संख्या १२ हजार ३९६ पुगेको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाले जनाएको छ ।
Discussion about this post