विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सोमबार नै विश्वासको मत लिने भएका छन् । दिउँसो ३ बजेपछि बस्ने प्रदेशसभा बैठकबाट उनले विश्वासको मत लिन लागेका हुन् ।
सत्तारुढ गठबन्धनको सोमबार दिउँसो बसेको बैठकले आजै विश्वासको मत लिने निर्णय गरेको हो ।
सभामुखको अनुपस्थितिमा प्रदेशसभाको अध्यक्षता गर्दै आएकी उपसभामुख सिर्जना दनुवार उपचारका लागि भन्दै सोमबारै काठमाडौं गएकी छन् । विश्वासको मत लिने प्रदेशसभा बैठकमा उपसभामुख अनुपस्थित हुने भएपछि थापाले विश्वासको मत लिने कि नलिने भन्नेमा अन्योल थियो ।
मुख्यमन्त्री थापाले विश्वासको मत पाउने अवस्था बन्न नदिन एमाले र राप्रपाका ज्येष्ठ प्रदेशसभा सदस्यहरु बिदामा बसेका छन् ।
एमालेका ७ र राप्रपाका १ जना ज्येष्ठ सदस्य बिदामा बसेका छन् । काठमाडौं जानुअघि उपसभामुख दनुवारले कांग्रेस प्रदेशसभा सदस्य इस्राइल मन्सुरीलाई बैठक सञ्चालनको जिम्मेवारी दिएकी थिइन् ।
९३ सदस्यीय प्रदेशसभामा बहुमत पु¥याउन ४७ प्रदेशसभा सदस्य चाहिन्छ । सत्ता गठबन्धनसँग ४७ संख्या नै छ तर तीमध्येबाटै सभासको अध्यक्षता गर्नुपर्ने अवस्था आउँदा मुख्यमन्त्री थापाले विश्वासको मत पाउने वातावरण बन्दैन थियो । तर, उपसभामुखले आह्वान गरेको बैठक अरुले स्थगित गर्न नमिल्ने भएपछि थापा विश्वासको मत लिनैपर्ने बाध्यतामा पुगेको गठबन्धनका नेताहरुले बताएका छन् ।
माओवादीका प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री दुर्गा चापागाईंले मुख्यमन्त्रीले आजै विश्वासको मत लिने बताए । ‘सभाको अध्यक्षता गर्ने माननीयले पनि मतदान गर्नुहुन्छ,’ उनले भने, ‘मुख्यमन्त्रीले विश्वासको मत पाउनु हुन्छ ।’
Discussion about this post