विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सभामुखले विश्वासको मतका पक्षमा मतदान गर्नु संविधानसम्मत् भएको दाबी गरेका छन् ।
प्रदेशसभा बैठकको अध्यक्षता गरिरहेकालाई मतदान गर्न लगाएर थापाले विश्वासको मत पाएको घोषणा गरिएको थियो ।
विश्वासको मत पाएपछि पत्रकारहरुसित कुरा गर्दै थापाले सभामुखले विश्वासको मत दिन पाउने दाबी गरे ।
सभामुखले सभा छाडेर हिँडेपछि यस्तो अवस्था आएको जिकिर गर्दै मुख्यमन्त्री थापाले भने ‘यो वैधानिक वा अवैधानिक भनेर हामीले भन्ने हैन । हामीले जे गर्यौं, ठीक गर्यौं ।’
उपसभामुख सृजना दनुवारका कारण सभाको अध्यक्षतामा रहेको प्रदेशसभा सदस्यले पनि मतदान गर्नुपर्ने परिस्थिति बनेको उनको भनाइ छ ।
थापाले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक आह्वान गरेर उपसभामुख दनुवार काठमाडौं गएकी थिइन् ।
एमालेले उनी बिरामी भएकाले उपचारका लागि गएको र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएको जनाएको छ ।
काठमाडौं जानुअघि दनुवारले ज्येष्ठ सदस्य एवं कांग्रेसका प्रदेशसभा सदस्य इस्राइल मन्सुरीलाई सभा सञ्चालनको जिम्मेवारी दिएकी थिइन् ।
सभामुखको भूमिकामा रहेका मन्सुरीले मुख्यमन्त्री थापालाई विश्वासको मत दिएपछि विवाद भएको छ ।
मत विभाजन सकिएपछि मत सच्याउन दिएको ३ मिनेटको समयभित्र मन्सुरीले थापाको पक्षमा मतदान गरेका थिए ।
सभाको अध्यक्षता गर्नेले पक्ष वा विपक्षमा मतदान गर्न नपाउने संवैधानिक व्यवस्था छ । सभाध्यक्षले बराबरी मत भएको अवस्थामा मात्रै निर्णायक मत दिन पाउने व्यवस्था छ ।
मन्सुरी मतदानमा सहभागी भएपछि प्रतिपक्षी एमाले र राप्रपाका प्रदेशसभा सदस्यहरुले रोष्ट्रममा नाराबाजी गरेर विरोध जनाएका थिए ।
मुख्यमन्त्री थापाले भने यसको सबै जिम्मा उपसभामुखले लिनुपर्ने बताए ।
थापाले प्रदेशको औचित्य स्थापित गरेर प्रदेशसभाको वैधानिकता बचाउने काम भएको जिकिर गरे ।
‘मन्सुरी ९३ जना मध्येकै प्रदेशसभा सदस्य भएको भन्दै थापाले संविधानसम्मत् हिसाबले उनले मतदान गरेको दाबी गरे ।
Discussion about this post