विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभाबाट सोमबार विश्वासको मत प्राप्त गरेका छन् ।
उनले प्रस्तुत गरेको विश्वासको मतको प्रस्तावको पक्षमा ४७ जना सभासदले समर्थन जनाएका थिए ।
विश्वासको मतसम्बन्धी प्रस्तावलाई सभाध्यक्ष इस्राइल मन्सुरीसहित गरी ४७ सांसदले समर्थन गरेका थिए ।
उक्त प्रस्तावको विपक्षमा ३० जनाको मत परेको थियो ।
९३ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि ४७ जनाको समर्थन आवश्यक पर्छ ।
विपक्षी दल एमालेले विश्वासको मत लिने क्रममा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाउँदै त्यसलाई अस्वीकार गर्ने बताएको छ ।
उपसभामुखको अनुपस्थितिमा सोमबारको बैठकको अध्यक्षता गरेका इस्राइल मन्सुरीले मतदानका क्रममा सांसद गीता तिम्सिनालाई अध्यक्षता गर्न बोलाएपछि संसदमा नाराबाजीसँगै विरोध भएको थियो ।
उनले तिम्सिनालाई अध्यक्षता गर्न दिएर थापाको पक्षमा अत दिएका थिए । त्यस क्रममा विपक्षी सांसदहरुले विरोध गरेका थिए ।
नाराबाजीका बीच फेरि अध्यक्षता गर्दै मन्सुरीले मुख्यमन्त्री थापाले प्रदेशसभाको विश्वासको मत पाएको घोषणा गरेका थिए ।
Discussion about this post