काठमाडौँ । उद्धव थापा नेतृत्वको सरकार बर्खास्त गर्न अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालतमा दायर गरिएको रिटमा बिहीबार सुनुवाइ हुने भएको छ । नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा सुनुवाइ हुन लागेको हो ।
सभाध्यक्षले समेत मतदान गरी विश्वासको मत लिनु संविधान र सर्वोच्च अदालतको आदेश विपरीतको कार्य भएको भन्दै नेकपा कार्कीले परमादेशको माग गर्दै बुधवार सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।
सवोृचच अदालतका प्रवक्ता विमल पौडेलका अनुसार उक्त रिट बिहीबारको पेसीमा चढेको छ ।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री थापाले संविधानविपरीत सभाध्यक्ष इस्राइल मन्सुरीलाई मतदान गराएर विश्वासको मत प्राप्त गरेको विरुद्धमा नेकपा एमालेले सर्वोच्च अदालत पुगेको थियो । कार्कीले प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री उद्धव थापा, सभाध्यक्ष गरेका सांसद इस्राइल मन्सुरी, अध्यक्ष मण्डलकी सांसद गीता तिम्सिना र प्रदेशसभा सचिवालय विरुद्धमा मुद्दा दर्ता गराएका थिए ।
रिट निवेदनमा गैरसंवैधानिक रूपमा विश्वासको मत प्राप्त गरेको भन्दै मुख्यमन्त्री उद्धव थापाको विश्वासको मत बदर गरी ठूलो दलको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश समेतको माग गरिएको छ ।
Discussion about this post