इलाम । इलामको दक्षिणी क्षेत्र चुलाचुलीमा १५ शैयाको अस्पताल भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।
यो भवन निर्माण नहुँदै गाउँपालिकाले आफ्नै भवनमा अस्पताल सञ्चालन गरेर विरामीलाई निशुल्क उपचार र औषधि वितरण गर्दै आएको छ । गाउँमा नै थरि थरि रोगको उपचार पाएका स्थानीय गाउँपालिकाको कार्यको प्रशंसा गर्न थालेका छन् ।
गाउँपालिकाको आफ्नै भवनमा सञ्चालित अस्पतालबाट स्वास्थ्य बीमा सुरु भएपछि स्थानीयलाई सहज भएको छ ।
यहाँ नेपाल सरकारको स्वास्थ्य बीमा सहितको सेवा सुरु भएको हो । गाउँमा अस्पताल नहुँदा झापाका विभिन्न स्थानमा उपचारका लागि धाउनु पर्ने स्थानीयले गाउँमै अस्पताल सञ्चालनपछि धेरै राहत मिलेको बताएका छन् ।
चुलाचुलीका ३ का बाबाबुराम अधिकारीले पहिला पहिला सामान्य बिरामीले पनि झापाको दमक गएर सेवा लिने गरेको स्मरण गर्दै हाल यहीँ सेवा पाएकोमा खुसी व्यक्त गरे ।
दमक जान आउन नै भाडा धेरै लाग्ने गर्दथ्यो तर अहिले गाउँमा नै अस्पताल आउँदा सहज एवम् छिटो सुविधा पाएको उनको भनाई छ । अस्पतालमा विशेषज्ञको सेवा सुरु भएपछि अझ सुविधा पुगेको छ । दिनहुँ सयको हाराहारीमा बिरामीले सेवा लिने गरेको अस्पतालका डा. अर्जन कटुवालले जानकारी दिए ।
एक्स रे, भिडियो एक्स रे, ल्याब जस्ता सेवा समेत अस्पतालले प्रदान गर्दै आएको छ । अस्पतालमा उच्च रक्तचाप, सुगर, थाइराइड, मुटु जस्ता बिरामीको चाप रहेको चिकित्सकको भनाई छ ।
डेंगुको समस्या गाउँमा देखा परेको हुँदा ज्वरो र खोकीको समस्या लिएर ज्यादा बिरामीहरु आउने गरेको उनी बताउँछन् । डा. कटुवालले विगत सात महिनादेखि गाउँपालिकामा अस्पताल सञ्चालन भएको र यहाँ ६ महिना अगाडिदेखि स्वास्थ्य बीमा लागू गरिएको बताए ।
गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले स्वास्थ्य बीमा कार्यक्रमको सुरु भएदेखि नै जनताले स्थानीय सरकारको महसुस गर्न थालेको बताए ।
अशक्त अपाङ्ग र सुत्केरी महिलाहरुलाई दिनुपर्ने सेवा वर्षौदेखि झापामा लिन जानुपर्ने बाध्यता अस्पताल निर्माणपछि हटेको उनको भनाई छ ।
आवश्यक उपकरणहरु ल्याएर अस्पताल सञ्चालन भएको र आफ्नै फार्मेसीबाट औषधि उपलब्ध गराउने गरेको अध्यक्ष केरुङले जानकारी दिए ।
गाउँपालिकाबासीलाई आधारभूत स्वास्थ्य उपचार पालिकाभित्रै उपलब्ध गराउने उद्देश्यले अस्पताल सुरु गरिएको जनाइएको छ ।
अहिले गाउँपालिकामा रहेको अस्पताल पाँच शैयाको छ । चुलाचुली गाउँपालिकामा १५ शैयाको अस्पताल निर्माणाधीन अवस्थामा छ ।
नयाँ भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । ठेकेदारले भवन जिम्मा लगाएपछि सोही स्थानबाट सेवा सुरु गर्ने गाउँपालिकाको तयारी छ । बाह्रगोठेमा निर्माण भएको आधारभुत अस्पताल पाँच करोड २० लाखको लागतमा निर्माण भएको जनाइएको छ ।
Discussion about this post