काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले नक्सा विवादको समस्या कूटनीतिक पहल र वार्ताको माध्यमबाट समाधान गरिने बताएका छन् ।
नेपाल सरकारले जारी गरेको नक्सा सबै अन्तर्राष्ट्रिय निकाय र मुलुकले सम्मान गरोस् र स्वीकारोस् भन्ने नेपालको अडान रहेको र यही विषयलाई लिएर विवाद गर्नु उचित नहुने उनले बताए । चीन सरकारले जारी गरेको नक्सामा नेपालको लिम्पियाधुरा क्षेत्र भारतमा समेटिएको विषयमा प्रतिक्रिया दिँदै मन्त्री साउदले यस्तो बताएका हुन् ।
सिद्धिचरण नगरपालिकाको नवनिर्मित भवन उद्घाटनका लागि ओखलढुंगा पुगेका मन्त्री साउदले आइतबार पत्रकार सम्मेलनमा भने, ‘नक्सा जारी गरेपछि सो नक्सासहितको नोट अरु मुलुकलाई हामीले पठाएको छौं कि छैनौं भनेर खोज्न लगाएको थिएँ । हालसम्म पठाएको भन्ने देखिएको छैन ।’
मन्त्री साउदले नक्साको समस्यालाई विवाद नगरी कूटनीतिक पहल र वार्ताको माध्यमबाट समाधान गर्ने बताए । ‘नेपाल सरकारले जारी गरेको नक्सा सबै अन्तर्राष्ट्रिय निकाय र मुलुकले सम्मान गरोस् र स्वीकारोस् भन्ने हाम्रो अडान त छँदैछ, ‘मन्त्री साउदले भने, ‘तर यही विषयलाई लिएर विवाद गर्नु उचित हुँदैन ।’
Discussion about this post