विराटनगर । संखुवासभा जिल्ला कारागार खाँदबारीमा कुटपिट गरी दुईजना कैदीको हत्या गरिएको घटनाबारे अदालतमा मुद्दा दर्ता भएको छ ।
हत्यामा संलग्न भएको अभियोगमा ७ जना प्रहरी र ८ जना कैदीबन्दीविरुद्ध जिल्ला अदालत संखुवासभा चैनपुरमा शुक्रबार कर्तव्य ज्यान मुद्दा दायर गरिएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय संखुावासभाले अभियोगपत्र तयार पार्दै १५ जनालाई प्रतिवादी बनाएर मुद्दाको अभियोजन गरेको हो ।
कारागारभित्र गत साउन २४ गते बिहान कैदीहरु संखुवासभाको मादीका विनोद तोलाङ्गी र नुवाकोट ककनीका विकाश श्रेष्ठ भनिने आकाश बलामीको मृत्यु भएको थियो ।
कारागारको शौचालयको झ्यालको रड काटेर भाग्न खोजेको भन्दै नियन्त्रणमा लिएर सुरुमा प्रहरीले र त्यसपछि अन्य कैदीबन्दीले सामूहिक कुटपिट गर्दा उनीहरुको मृत्यु भएको अनुसन्धानबाट खुलेको छ ।
मुद्दामा कारागारको सुरक्षार्थ खटिएका प्रहरीका इन्चार्ज असइ (सहायक निरीक्षक) मोरङको कटहरी गाउँपालिका–१ महेशपुर घर भएका लक्ष्मी चौधरी, प्रहरी हवल्दार खोटाङको खोटेहाङ गाउँपालिका–८ का राजकुमार श्रेष्ठ, प्रहरी जवानहरु इलामको इलाम नगरपालिका–११ का सुमन गुरुङ, उदयपुरको त्रियुगा नगरपालिका–१४ का दमनसिंह राई, सुनसरीको कोसी गाउँपालिका–५ का पवनकुमार महतो, उदयपुरको लिम्चुबुङ गाउँपालिका–४ का नसुन राई र खोटाङको जन्तेढुंगा गाउँपालिका–३ का मनिष राईलाई प्रतिवादी बनाइएको छ ।
कारागारका चौकीकारसहित ८ जना कैदीलाई समेत मुद्दामा प्रतिवादी बनाइएको छ । चौकीदार संखुवासभाको खाँदबारी नगरपालिका–२ चेवाका २८ वर्षीय रामबहादुर कार्की भनिने राम कार्की, बडानाइके खाँदबारी–९ गैरीगाउँका २६ वर्षीय अनिष शर्मा कट्टेल तथा सहनाइकेहरु भोजपुरको भोजपुर नगरपालिका–१० भैंसीपंखाका २८ वर्षीय सचिन्द्र भनिने सचिन राई, संखुवासभाको मकालु गाउँपालिका–५ खोलाखानीका २३ वर्षीय विक्रम भनिने सुमन सारुमगर, चैनपुर नगरपालिका–३ का २९ वर्षीय टीकाराम भनिने टीकाराज चौहान, चिचिला गाउँपालिका–४ खारमेली गाउँका ४० वर्षीय नवीनकुमार राई र कैदीहरु खाँदबारी नगरपालिका–६ तल्लोपांठाका ४१ वर्षीय इन्द्रध्वज घिमिरे एवं मादी नगरपालिका–५ बेतिनीका २१ वर्षीय मीन भनिने मीनबहादुर तामाङ मुद्दाका प्रतिवादी हुन् ।
सबै अभियुक्तविरुद्ध जन्मकैदको मागदाबी लिएर जिल्ला न्यायाधिवक्ता सन्तोष भण्डारीले मुद्दा दायर गरेका हुन् । मागदाबी अनुसार मुद्दाको फैसला भएमा प्रतिवादीहरुले जीवित रहेसम्म जेलमा बस्नुपर्ने हुन्छ ।
अभियुक्तहरुबाट मृतकहरुका हकवालालाई मुलुकी अपराध संहिता, २०७४ को दफा १८६ बमोजिम क्षतिपूर्ति दिलाई भराई अपराध पीडित संरक्षण ऐन २०७५ को दफा ४१ बमोजिम क्षतिपूर्ति शुल्क निर्धारण गरी क्षतिपूर्ति कोषमा जम्मा हुनुपर्ने मागसमेत अभियोगपत्रमा गरिएको छ ।
Discussion about this post