विराटनगर । बिरामीको मृत्यु भएको विषयलाई लिएर मोरङको लेटाङमा मंगलबार तनाव भएको छ । मेडिकलअगाडि मृतकको शव राखेर दिउँसो २ बजेदेखि आफन्त र स्थानीयले प्रदर्शन गरेका छन् ।
लेटाङ नगरपालिका–४ की ३० वर्षीया बिना भनिने विनिता तामाङको मृत्यु भएको विषयलाई लिएर तनाव भएको हो ।
तामाङलाई उपचारका लागि परिवारका सदस्यले भदौ २२ गते स्थानीय जनप्रिय मेडिकलमा शुक्रबार लगेका थिए ।
सामान्य उपचार गराएर घर फर्काइएकी उनको स्वास्थ्य अवस्था बिग्रिदै गएपछि परिवारका सदस्यले सोमबार सोही मेडिकल लगे ।
मेडिकलले सुविधा सम्पन्न अस्पतालमा लैजानु भनेर रेफर गर्यो । तामाङलाई सोमबार साँझ विराटनगरको विराट नर्सिङ होममा भर्ना गरियो । उपचारकै क्रममा मंगलबार बिहान ६ बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आफन्त र परिवारका सदस्यले भने शव लगेर मेडिकलअगाडि राख्दै प्रदर्शन र नाराबाजी गरिरहेका छन् । मेडिकल सञ्चालकलाई कारबाही हुनुपर्ने माग उनीहरुको छ । मेडिकल तोडफोडको प्रयाससमेत भएको प्रहरीले जनाएको छ ।
अवस्था थप तनावग्रस्त हुन नदिन इलाका प्रहरी कार्यालय लेटाङ, पथरी एवं बेलबारीबाट ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । विराटनगरबाट समेत थप मद्धतका लागि प्रहरी पठाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।
Discussion about this post