काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले राजा संस्थालाई मुलुकको अभिभावकीय संस्थाको रुपमा स्वीकार गर्न प्रमुख तीन दललाई आग्रह गरेका छन् ।
ठूला दलहरुले अंगीकार गरेको दिल्लीमा भएको १२ बुँदे सम्झौताको बाटोबाट मुलुक दुर्घटनामा फस्ने निश्चित भएको जिकिर गर्दै उनले अब राजसंस्थालाई अभिभावकीय भुमिका दिनेगरी अघि बढनुपर्ने बताए ।
बुधवार पार्टीले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने शासकीय व्यवस्था मुलुकको लागि हितकर हुने पनि दोहोर्याए ।
‘तपाईहरुमा रतिभर पनि देशप्रति माया छ, जनताप्रति माया छ । र, सुध्रन चाहनुहुन्छ भने अहिले पनि समय बितिसकेको छैन । रक्तपात वा कुनै पनि बिद्रोह नगरीकन सल्लाहबाट तपाईहरु हिँडेको बाटो सच्याउनुस्’, उनले भने, ‘तपाइँहरुले २०६२/०६३ को राजनीतिक परिवर्तनपछि खासगरी दिल्लीको १२ बुँदे सम्झौताको जो भरिया बनेर आउनुभयो । त्यो सम्झौताको बाटोबाट देशलाई हिँडाउनुभयो । यहाँसम्म आइपुग्दा खेरी त्यो बाटो गलत भयो भन्ने कुरा तपाईहरुलाई पनि लागेको छ । त्यो बाटो लगत हो भन्ने कुरा प्रमाणित भएको छ । अब त्यो बाटोबाट अघि बढे देशलाई दुर्घटनामा लैजानेछ । अब राजालाई कुनै न कुनै स्पेसको व्यवस्था गर्नुहोस् । त्यसकारण देशलाई दुर्घटनामा जानबाट जोगाउनका लागि नयाँ सम्झौता गरौं ।’
Discussion about this post