काठमाडौं। संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा सञ्चालन भइरहेको सन् २०२३ को एसडीजी शिखर सम्मेलनमा विश्वका अतिकम विकसित देशहरुको समूहका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले अतिकम विकसित देशहरुका पक्षमा अन्तराष्ट्रिय समुदायले यसअघि गरेको प्रतिवद्धता कार्यान्वयनमा जोड दिए ।
प्रधानमन्त्री प्रचण्डले कोभिड १९ महामारी, जलवायु परिवर्तन र भूराजनीतिक तनावजस्ता विश्वव्यापी सङ्कटहरूले अतिकम विकसित देशहरुको प्रगतिलाई थप जोखिममा धकेलिरहेको उल्लेख गर्दै यसवाट उम्कन उद्दार योजना जरुरी रहेको उल्लेख गरे ।
सन् २०२१ को तुलनामा सन् २०२२ मा अल्पविकसित देशहरुमा विदेशी प्रत्यक्ष लगानीको प्रवाह लगभग ३० प्रतिशतले घटेको उल्लेख गर्दै उनले यसबाट पूर्वाधार, नवीकरणीय ऊर्जा, खानेपानी तथा सरसफाइ, खाद्य सुरक्षा, स्वास्थ्य र शिक्षामा लगानीलाई ठूलो धक्का लागेको तथा बाह्य ऋणले संकटको जोखिम बढाएको औँल्याए ।
उनले अतिकम विकसित देशहरुले स्वदेशी श्रोत र संस्थालाई सुदृढ र परिचालन गर्ने अधिकतम प्रयास जारी राखेको बताउँदै दिगो विकास लक्ष्य हासिल गर्न एक्लो प्रयासले मात्रै नपुग्ने बताए ।
यसका लागि दोहा कार्ययोजना, जसप्रति अन्तराष्ट्रिय समुदायको समर्थन र प्रतिवद्धता रहेको थियोलाई स्वीकार गर्न उनले आग्रह गरे ।
दिगो विकास लक्ष्य हासिल गर्न थप लगानी, संरचनात्मक रूपान्तरणका लागि समर्थन र कोभिड महामारीबाट द्रुत्त र दिगो रिकभरी हासिल गर्न आवश्यक हुने उनको भनाइ थियो ।
एसडीजी प्रोत्साहन प्याकेज मार्फत् अतिकम विकसित राष्ट्रलाई सहयोग गर्न, अतिकम विकसित राष्ट्रहरूको ऋण सङ्कटलाई सम्बोधन गर्न र समयमै समन्वित र उपयुक्त ऋण समाधान उपलब्ध गराउन पनि प्रधानमन्त्री दाहालले आग्रह गरे ।
Discussion about this post