झापा । अर्जुनधारा–८ स्थित शनिश्चरे साना किसान कृषि सहकारी संस्था लिमिटेडको १०औं वार्षिक साधारण सभा शुरु भएको छ ।
अर्जुनधारा–४ देखि ९ नम्बर वडाका शेयर सदस्यहरुलाई लक्षित गरि अर्जुनधारा–७ स्थित अर्जुनधारा जलेश्वरधामको सभाहलमा आयोजित उक्त सभाको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाकी निवर्तमान प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईले उद्घाटन गरेकी थिइन् ।
संस्था सञ्चालक समितिका अध्यक्ष भैरवबहादुर खड्काको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा संस्थाको गत आर्थिक वर्ष २०७९÷०८० को वार्षिक प्रगति प्रतिवेदन अध्यक्ष खड्काले र लेखा परीक्षण प्रतिवेदन लेखा समितिका संयोजक भानु मिश्रले प्रस्तुत गरेका थिए ।
प्रस्तुत प्रतिवेदन अनुसार संस्थाको जम्मा शेयर पुँजी एक करोड पाँच लाख ५४ हजार आठ सय रुपैयाँ, कोष हिसाबामा एक करोड २४ लाख ६८ हजार तीन सय ३८ रुपैयाँ २१ पैसा, कुल निक्षेप तीन करोड ४६ लाख ५६ हजार एक सय १२ रुपैयाँ ७४ पैसा र ऋण लगानी सात करोड ६४ लाख आठ हजार रुपैयाँ रहेको छ ।
त्यसैगरी संस्थाको गत आर्थिक वर्षको जम्मा आम्दानी एक करोड २० लाख ३६ हजार सात सय ९९ रुपैयाँ ६८ पैसा, जम्मा खर्च ८९ लाख ६७ हजार दुई सय ६० रुपैयाँ तीन पैसा र नाफा ३० लाख ६९ हजार पाँच सय ३९ रुपैयाँ ६५ पैसा रहेको छ । सोही कार्यक्रममा उत्कृष्ट उद्यमीतर्फ व्यावसायिक कुखुरापालक कृषक अर्जुनधारा–९ निवासी समूह नं. १६४ की सदस्य सुनिता रिजाल र उत्कृष्ट अन्तर समूहतर्फ ९ ‘घ’लाई सम्मानित गरिएको थियो ।
कार्यक्रममा अर्जुनधारा–६ का निवर्तमान वडाध्यक्ष लोकनाथ गौतम, अर्जुनधारा–७ की वडा सदस्य पार्वता भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए । संस्थाका उपाध्यक्ष नरेन्द्रप्रसाद अधिकारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन प्रबन्धक भूमिनाथ बरालले गरेका थिए ।
Discussion about this post