काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य सचिव मधुकुमार मरासिनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
नेशनल पेमेन्ट गेटवे खरिदमा पौडेल र मरासिनी सहितका अधिकारीले भ्रष्टाचार गरेको आयोगको ठहर छ ।
अख्तियारले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन अध्यक्ष सञ्जय शर्मा, तत्कालीन कार्यकारी निर्देशक प्रणिता उपाध्याय, केन्द्रका उप–निर्देशक सफल श्रेष्ठ, तत्कालीन सहायक निर्देशक रमेश पोखरेल र तत्कालीन लेखा अधिकृतहरु निमबहादुर वली र रामबहादुर बुढा तथा कम्प्युटर इन्जिनियर रामशरण गायकलाई पनि प्रतिवादी कायम गरेको छ ।
पौडेलले सूचना प्रविधि केन्द्रमा तत्कालीन कार्यकारी निर्देशक र मरासिनीले अर्थ मन्त्रालयको बजेट महाशाखामा तत्कालीन सहसचिव हुँदा पूर्वाधार नै तयार नगरी २३ करोड २७ लाख ५८ हजार ७७ मा ‘नेशनल पेमेन्ट गेटवे’ खरिद गरेका थिए ।
६ वर्षअघि खरिद गरिएको नेशनल पेमेन्ट गेटवे (एनपिजी) अहिलेसम्म प्रयोगमा आएको छैन ।
Discussion about this post