विराटनगर/ श्रीमतीको हत्यामा संलग्न एक जनालाई प्रहरीले शुक्रबार विराटनगरबाट पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका–१९ धनपुराका ३९ वर्षीय उपेन चौधरीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार उपेनले यही असोज १३ गते राति धारिलो हतियार प्रहार गरेर र शरीरका विभिन्न भागमा कुटपिट गरेर आफ्नै श्रीमती ३० वर्षीया जितनी सहनीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । जितनीको शव घरभित्रै फेला परेको थियो ।
दाहालका अनुसार घटनापछि फरार रहेका उपेनलाई शुक्रबार पक्राउ गरेर घटनाको अनुसन्धान अघि बढाइएको छ । घरयासी विवादमा उपेनले श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ । उपेनविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन प्रहरीले शुक्रबार नै अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको छ ।
Discussion about this post