झापा । नेपाल टेलिकम सुरुङ्गा शाखाका निमित्त कार्यालय प्रमुख दिलीप सुवेदी बेपत्ता बनेको महिना दिन बितिसक्दा पनि उनको पत्तो लाग्न सकेको छ्रैन ।
३६ दिन अघिदेखि परिवारको सम्पर्क बाहिर रहेका सुवेदीको खोजी कार्य तीब्र बनाइएपनि हाालसम्म उनी सम्पर्कमा नआएको उनका आफन्तले बताएका छन् ।
विराटनगर नगरपालिका ४ राजवंशी चौकमा स्थायी घर भएका सुवेदी टेलिकमले उपलब्ध गराएको क्वाटरमा बस्दै आएका थिए ।
गत भदौदेखि उनी वेपत्ता छन. । कनकाई नगरपालिका ३, सुरुङ्गाको नयाँबस्तीस्थित क्वाटरबाट सुवेदी बेपत्ता भएका हुन् । बेपत्ता सुवेदीको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक सुरज कार्कीले बताए ।
उनले अहिलेसम्म कुनै सुराक फेला नपरेको जानकारी दिए ।‘कोही कसैसँग लेनदेन देखिँदैन, कसैसँग रिसिबी पनि देखिँदैन’ प्रहरी नायव उपरीक्षक कार्कीले भने,‘ परिवारले दिएको हुलियाका आधारमा खोजी कार्य र अनुसन्धान जारी छ ।’
अधिकृत छैठौ तहका कर्मचारी ३१ वर्षीय सुवेदीले नेपाल टेलिकम सुरुङ्गा शाखामा गत फागुन महिनादेखि काम गर्न थालेका हुन् । त्यहाँका कार्यालय प्रमुख असार महिनामा बिर्तामोडमा सरुवा भएपछि उनले सुरुङ्गा शाखाको जिम्मेवारी सम्हालेका थिए । सुवेदी कार्यालयको क्वाटरबाटै बेपत्ता भएका हुन् ।
आफ्ना श्रीमान् आफै नहराएको सुवेदीकी श्रीमती ब्रजुना भट्टराई सुवेदीले बताइन् । ‘क्वाटरमा वालेट , स्कुटरको चाबी , एटिएम कार्ड , मोबाइलको चार्जर , चस्मा छोडिएको छ ’उनले भनिन्,‘ घर बस्ने लुगामा उहाँ हिँड्नु भएको छ ।’
ब्रजुनाले आफ्ना श्रीमानसँग अन्तिम पटक शनिवार बिहान ८ बजेर ४९ मिनेटमा कुराकानी भएको र कुराकानीमा सामान्य कुरा मात्रै भएको बताइन् । फेरि दिउँसो १२ बजे कुरा गर्दा मोबाइल अफ पाएको उनले बताइन् । सुवेदीको मोबाइल अझै अफ रहेको प्रहरीले जनाएको छ ।
Discussion about this post