झापा ।
झापालगायत जिल्लाका बजारमा भारतीय सयपत्री फूल अत्यधिक आउने गरेकोमा सरकारले सयपत्री फूलको मालाको आयातमा प्रतिबन्ध लगाएको छ । आन्तरिक उत्पादनले माग धान्न सक्ने भएकाले सयपत्री फूलको माला आयातमा प्रतिबन्ध लगाएको हो ।
झापाको बाहुनडाँगी, बिर्तामोड, कमल, बाह्रदशी लगायतका क्षेत्रमा सयपत्री फूलको सामुहिक खेती हुँदै आएको छ । पुष्प विकास केन्द्रले एक सूचना जारी गर्दै तिहारको लागि स्वदेशी उत्पादनले आन्तरिक माग धान्नसक्ने भएकाले कात्तिक १ गतेदेखि नै लागु गरी सयपत्री मालाको आयातमा रोक लगाइएको हो । अर्को निर्णय नभएसम्म भारतीय सयपत्री माला ल्याउन नपाइने सूचनामा उल्लेख छ ।
तिहारमा अत्यधिक मात्रामा सयपत्री फूलको मालाको माग हुन्छ । यसवर्ष स्वदेशी उत्पादनले आन्तरिक माग धान्न सक्ने भएकोले भारतीय सयपत्री मालाको आयात अनुमतिपत्रको सिफारिस जारी गर्ने कार्य बन्द गरिएको पुष्प विकास केन्द्रको जारी सूचनामा उल्लेख छ ।
इजाजतपत्र बेगर भारतीय सयपत्री माला आयात गरिएको भेटिएमा कानुन बमोजिम कारबाही हुने सूचनामा उल्लेख छ । मेचीनगर ४ मा वडाका हरेक नागरिकले घरघरमै आफूलाई पुग्नेगरी सयपत्री फूल लगाएको र अपुगमा वडाले समेत खेती गरेका कारण यसवर्षको तिहारमा भारतबाट फूल आयात गर्नु नपर्ने वडा अध्यक्ष अर्जुन कार्कीले बताए ।
वडाले आफ्नै खर्चमा करिब १० कठ्ठा जग्गामा सयपत्री र मखमली फूलको खेती गरेको छ । फूलमा कोपिला लाग्न सुरु गरेकाले तिहारमा ढकमक्क फुल्ने उनले बताए ।
मेचीनगर ९ का डिल्लीराम उप्रेतीले बिर्तामोड नगरपालिका ६ बुट्टाबारीमा १५ कठ्ठा जमिनमा व्यावसायिक फूलखेती गरेका छन् । उनले बाह्रै महिना सयपत्री फूलको खेती गरी आम्दानी गर्दै आएका छन् । बारीमा फुल्न लागेको सयपत्री फूलको मालाको तिहारका लागि माग आउन थालेको उनको भनाइ छ ।
त्यस्तै, कमल गाउँपालिका २ मा सुवेदी इन्स्टिच्युट कृषि फार्मले सात कठ्ठा जमिनमा सयपत्री फूलको व्यावसायिक खेती गरेको छ । झापाका विभिन्न पालिकामा चाडपर्वलाई लक्षित गरेर सयपत्री फूल उत्पादन गर्ने गरिएको छ ।
मेचीनगर, भद्रपुर, विर्तामोड, कनकाई, दमक, गौरादह नगरपालिकालगायतका किसानले पाँच कठ्ठादेखि एक बिघा जमिनमा तिहारलाई लक्षित गरेर सयपत्री फूलखेती लगाएका छन् । तिहारमा मात्र पूर्वीनाका काँकरभिट्टाबाट विगतमा ६० लाख रुपैयाँभन्दा बढीको सयपत्री फूलको माला आयात हुने गरेको छ ।
Discussion about this post