इलाम / चाडपर्व सुरु भएसँगै इलाममा हाउजी अर्थात बिंगो खेलाइने गरिन्छ । जुवाजन्य खेलमा नै पर्ने हाउजी खेलाउन प्रशासनले समेत अनुमती दिने गरेको छ ।
प्रहरी तथा सुरक्षा निकायकै जिल्ला स्थित उच्च पदस्थ ब्यक्तिहरु समेत यो खेलमा रमाउने गरेका छन् ।
पहिलेपहिले सामाजिक कार्यमा खर्च गर्ने उदेश्यले यो खेल खेलाइने गरिन्थ्यो । हालपनि भन्नचाहिँ सोही कुरा भनिन्छ । तर, रकम अपारदर्शी हुने गरेको गुनासो आउने गरेको छ । यो खेल खेलाउन जिल्ला सदरमुकाममा केही व्यक्तिहरू आफूले ठेक्का पाए झैँ गरेर नै लाग्ने गरेका छन् । तर, उठेको रकमका विषयमा आयोजकले के गर्छ आफूहरूलाई समेत जानकारी नहुने गरेको उनीहरू नै बताउँछन् ।
बिगतका वर्षहरूमा केही संस्थाहरू मिलेर हाउजी खेल खेलाइने गरिन्थ्यो । गएको वर्ष इलाम नगरपालिका नगर खेलकुद विकास समितिले नेतृत्व गरेर यो खेल सञ्चालन भयो । त्यसबीचमा नगरस्तरीय फुटबल खेल भयो । त्यसपछि कति रकम बाँकी छ रु र, कहिले खर्च गरिन्छसम्म पारदर्शी गर्ने गरिएको छैन ।
निकै तामझामसहित रातको समयमा ठूलो भीड जम्मा पारेर खेलाइने यो खेलमा जिल्ला बाहिरबाटसमेत मानिसहरू सहभागी हुन्छन् । सुरुमा पुरा टिकटको एक सय र पछि तीनसय सम्म लिने गरिन्छ । दैनिक लाखौँ रकम संकलन हुने गरेको छ ।
खेलमा सुरुमा कम पुरस्कार राशी र पछि पुरस्कार राशी समेत बढाइन्छ । दस लाख फाइनलमा दिने भनेर सुरुदेखि नै चर्चा चलाइन्छ । यो खेलबाट मोटो रकम संकलन त हुन्छ । तर, रकम पारदर्शी हुन नसकेको धेरैजसोको गुनासो छ ।
इलामको हाउजी खेलका विषयमा सञ्चारमाध्यममा समाचार प्रकाशित भयो । समाचारपछि भने आयोजकको नाममा इलाम नगरपालिका, नगर खेलकुद विकास प्रतिष्ठान इलामको लेटर प्याडमा प्रेस विज्ञिप्ति जारी गरियो । विज्ञप्तिमार्फत आफूहरूले सरासर सही काम गरिरहेको, सबै रकम पारदर्शी भएको र खेल इलाममा खेलाउनै पर्ने आशय बोकेको विज्ञप्ति जारी समेत भएको छ ।
छ जनाले विज्ञप्तिमा हस्ताक्षर समेत गरिएको छ । तर कसको हस्ताक्षर भन्ने नाम उल्लेख भएको छैन । ऐतिहासिक खेल हो र खेलाउनैपर्ने भए केहीदिन मात्र खेलाउनुपर्ने स्थानीयको भनाइ छ । महिनौसम्म यसरी जुवाजन्य खेल हाउजी खेल्न अनुमति दिने जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र खेल खेलाउने इलाम नगरपालिकाको समेत आलोचना सुरु भएको छ ।
सरकारले जुवाजन्य खेल खेलाउन प्रतिबन्ध गरेको छ । तर, इलाममा प्रशासनकै स्वीकृतिमा यो खेलाइने गरिएको छ । ्
पछिल्लो समय आयोजकका नाममा जारी भएको विज्ञप्तिमा खेल प्रक्रियालाई अझ पारदर्शी बनाउने भनिएको छ । यसले पनि यसअघि पूर्ण रूपमा खेल पारदर्शी नहुने गरेको आयोजक स्वयमले नै स्वीकार गर्छन् ।
खेल ८ गते शुक्रबार समापन हुन भनिएको छ । लगत्तै पत्रकार सम्मेलनमार्फत आय, व्यय सार्वजनिक गर्नेसमेत विज्ञप्तिमा उल्लेख छ । करोडको हाराहारीमा कारोबार हुने बताइन्छ । उक्त रकमको पारदर्शीताबारे अर्को अंकमा हामी पुनः अर्को सामाग्रीसहित पाठकलाई सूचना प्रेषित गर्नेछौँ ।
Discussion about this post