विराटनगर । मोरङको बेलबारीका तीन वटा ज्वेलर्स सुनचाँदी पसलबाट एकै रात ठुलो मूल्य बराबरको धनमाल चोरी भएको छ ।
लाखौँ मूल्य बराबरको सुन र चाँदीका गहना एवं सामग्री मङ्गलवार राति चोरी भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।
उनका अनुसार चोरी भएका सबै ज्वेलर्स बेलबारी नगरपालिका–१ मा छन् । चोरीमा संलग्न र घटना गरिएको समय हालसम्म पत्ता लाग्न नसकेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार पसल फोडेर चोरी गर्ने समूहको खोजी जारी छ ।
बेलबारी–१ स्थित नेत्रप्रसाद दाहालको घरमा डेरा गरेर बस्ने छत्रबहादुर विक साजनले सञ्चालन गरेको न्यु बराइली ज्वेलर्स एन्ड कारखाना, ईश्वरी चौलागाईंको घरमा डेरा बस्ने रत्नमाया सुनार र किरण सुनारले सञ्चालन गरेको नवरत्न ज्वेलर्स र कूलबहादुर दर्नालले सञ्चालन गरेको न्यु वराह ज्वेलरीमा चोरी भएको डिएसपी दाहालले बताए ।
उनका अनुसार न्यु बराइली ज्वेलर्सबाट चाँदीको बुटी सय वटा अन्दाजी २५ तोला, तामाको बुटी सय वटा अन्दाजी ३ सय ग्राम र ४ आनाको सुनको पोते चोरी भएको छ । नवरत्न ज्वेलर्सबाट २ किलो बराबरको सुन र चाँदीका सामग्री तथा गहना चोरी भएको जानकारी उनले दिए ।
ज्वलेर्सबाट ४ आनाको सुनको जन्तर, १ तोला ५ आना काँचो सुन तथा चाँदीका सिक्री, ब्रासलेट, पाउजु, औँठी, बुटिकका सामग्री, करुवा, दियो, चम्चा, चुरा, कल्लीसमेत चोरी भएको छ ।
त्यस्तै, कूलबहादुर दर्नालले सञ्चालन गरेको न्यु वराह ज्वेलरीबाट ११ किलोग्राम बराबरको चाँदीबाट बनेका गहना र सामग्री चोरी भएको छ ।
दाहालका अनुसार चाँदीबाट बनेको एउटा खड्कुँलो, ६ वटा करुवा, एउटा गाग्री, १२ वटा थाली, २ वटा बटुका, चुरा, पाउजु, कल्ली, कम्मर बेल्ट, औँठी, बिच्छी, लकेट, ब्रासलेटलगायत चोरी भएको पाइएको छ ।पसलहरूमा रातको कुन समयमा चोरी भएको हो भन्ने यकिन भइसकेको छैन ।
घटनामा संलग्नको पनि पहिचान भएको छैन । डिएसपी दाहालका अनुसार घटनाको प्रकृति हेर्दा एउटै समूहले चोरी गरेजस्तो देखिन्छ ।
इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले घटनाको अनुसन्धान सुरु गरेर चोरीमा संलग्नको खोजी व्यापक बनाएको छ ।
घटनास्थल वरपर रहेका सिसी क्यामेराको अध्ययन गरेर चोरीमा संलग्न गिरोह पत्ता लगाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post