इटहरी । इटहरी उपमहानगरपालिकामा नि:शुल्क घर नम्बर राख्ने काम सुरु भएको छ ।
इटहरी उपमहानगरपालिकाको गेटमा नम्बर राख्दै इटहरी ६ का वडाध्यक्षले घर नम्बर राख्ने कामको सुरुवात गरेका हुन् ।
इटहरी उपमहानगरपालिका ६ बाट गुगल प्लस कोड ठेगाना प्रणाली अनुसार घर नम्बर राख्ने काम अघि बढेको छ ।
१८४० को सङ्ख्यामा घर रहेको इटहरी ६ मा पहिलो चरणमा १ हजार घरमा घर नम्बर राखिने इटहरी ६ का वडाध्यक्ष दिवस पोख्रेलले जानकारी दिए ।
‘बाहिरबाट आउने मान्छेलाई घर या ठाउँ पत्ता लगाउन सजिलो होस् भनेर हामीले यो कार्यको सुरुवात गरेका हौ ।’ वडाअध्यक्ष पोख्रेलले भने ।
यो घर नम्बर राख्ने कार्यले वडा भित्र रहेका घरहरूलाई गुगल कोड मार्फत सजिलै लोकेसन पत्ता लगाउन मदत पुग्ने वडाध्यक्ष दिवस पोख्रेल बताउँछन् ।
घर नम्बर प्रणालीको विकासले घर पत्ता लगाउने समस्याको अन्त्य भई स्मार्ट सिटीको परिकल्पना सकारात्मक बनाउन सहयोग गर्ने पोख्रेलले बताए ।
सहरी विकास योजना अन्र्तगत सुरु भएको घर नम्बर राख्ने कार्य सजिलो नभएको पोख्रेलले जानकारी दिए । पोख्रेल भन्छन् ‘घर नम्बर राख्न सुरुमा घरमा गएर फर्म भराउनु पर्छ घरको फोटो खिच्नुपर्छ अनि नक्सा अनुसार विभिन्न मार्गहरू बनाउँदै घरको नम्बर राख्नुपर्छ यसो गर्दा धेरै समय लाग्छ ।’
९ महिना घर घरमा गएर फोटो खिच्ने र फर्म भराउने कार्य गरेपछि १ हजार घरमा नम्बर राख्न सुरु गरिएको समेत वडाध्यक्ष पोख्रेलले बताए ।
Discussion about this post