काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले कार्यसम्पादन चित्तबुझ्दो नभएका थप नौ वटा निर्माण कम्पनीलाई सात दिने लिखित स्पष्टीकरण सोधेको छ ।
कार्यालयले आज एक सूचना जारी गर्दै कालो सूचीमा राख्न नपर्नेको कारणसहित सात दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न भनेको हो ।
स्पष्टीकरण मागिएका निर्माण कम्पनीमा पुष्पाञ्जली कन्स्ट्रक्सन एण्ड सप्लायर्स काठमाडौँ, न्यू भेरी इन्जिनियरिङ वर्कसप सुर्खेत, आराभाली इन्फ्रापावर भारत नयाँदिल्ली, प्रनिश इन्टरनेशनल प्रालि काठमाडौँ, कोशी निर्माण सेवा काठमाडौँ, दिनेशचन्द्र आर अग्रवाल इन्फ्राकोन प्राइभेट लिमिटेड, मामा भान्जा निर्माण सेवा उदयपुर, सत्यस्वरी कन्स्ट्रक्सन प्रालि काठमाडौँ र पाँचखाल कन्ट्रक्सन प्रालि काठमाडौँ छन्।
कार्यालयले कालोसूचीमा राख्न सिफारिस गरेका कम्पनी तथा आपूर्तिकर्तालाई यसअघि ३० दिनको म्याद दिएर स्पष्टीकरण माग गरिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ । सो अवधिभित्र स्पष्टीकरण नबुझाएपछि पुनः सात दिनको म्याद दिएर स्पष्टीकरण मागिएको हो ।
कालोसूचीमा राखिएका कम्पनीले सो अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।
Discussion about this post