विराटनगर । मोरङमा बिहेमा जन्ती गएका युवाको जन्ती बोकेको बसकै ठक्करबाट मृत्यु भएको छ ।
मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलका अनुसार कटहरी गाउँपालिका–४ का २५ वर्षीय अमित टुडुको मृत्यु भएको हो । बिहेका जन्ती बोकेको प्रदेश १–०२–००१ ख ९८४८ नम्बरको बसले टुडुलाई कटहरी–४ नयाँ बजारमा मंगलबार बिहान ४ः४५ बजेतिर ठक्कर दिएको थियो । जन्ति गएका मृतक टुडु सोही बसमा सवार थिए ।
जन्ती बोकेर झपडतलबाट कटहरीतर्फ आउँदै गरेको बसबाट ओर्लने क्रममा उनी लडेका थिए । लडेकै बेला टुडुलाई बसले ठक्कर दिएको एसपी पोखरेलले बताए । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि कोशी अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार दुर्घटना हुनुभन्दा अघि बसका चालक तथा सहचालकसँग जन्तीको विवादसमेत भएको थियो । जन्तीले बसभित्रै पिसाब गरिदिएको विषयलाई लिएर विवाद भएको पाइएको प्रहरीको भनाइ छ । विवाद हुँदै गर्दा बसबाट ओर्लिएका टुडुलाई आफू सवार बसले नै ठक्कर दिएको हो ।
दुर्घटनालगत्तै आक्रोसित बनेका जन्तीहरुले बसमा तोडफोड गरेर क्षति पुर्याइदिएका छन् । तोडफोडबाट बसको सिसा फुटेको छ । चालक कटहरी–३ का २९ वर्षीय सरोज विश्वकर्मामाथि कुटपिटसमेत भएको एसपी पोखरेलले बताए । दुर्घटनालगत्तै बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको उनको भनाइ छ ।
Discussion about this post