इलाम / सूर्योदय नगरपालिका–५ समालबुङका केशव र बेबीका बुढाथोकीलाई छोरी साइफ्रिना जन्मिएको १२ दिनमा घरमै जन्म दर्ता पुर्याउन वडाध्यक्षसहितको टोली आउँदा अचम्म लाग्यो । “छारोकी न्वारन मात्र सकिएको थियो । जन्म दर्ता वडामै बनाएर आज पुर्याउन आउनुभएछ । वडा कार्यालय टाढा छ, पुगेर आउने हैरान नै घट्यो ।” बेबीकाले भनिन् । “यहाँ कति जनालाई त जन्म दर्ता ३५ दिनभित्र बनाई सक्नुपर्छ भन्ने पनि थाहा छैन ।
वडाले आफैँ बनाई दिएर घरमै ल्याइदिन थालेछ खुसी लाग्यो ।” सोही ठाउँका एल्बिन शङ्खरको जन्म दर्ता जन्मिएको १६ दिनमा बिहीबार वडाले ल्याइदिएको उनकी हाँकी आमा वर्षाले बताइन् ।
सूर्योदय–५ वडा कार्यालयले बिहीबारदेखि बच्चाको जन्म दर्ता घरघरमै पुर्याउन सुरु गरेको छ । चेतना अभावका कारण समयमा बच्चाको जन्म दर्ता नगराएपछि विगत दुई वर्षदेखि जन्म दर्ता नबनाएका बालबालिका खोजेर बनाई दिन थालेको उक्त वडाले यस वर्षदेखि जन्मिएको ३५ दिनभित्रमा घरमै जन्म दर्ता पुर्याउने अभियान सुरुआत गरेको हो । “नानी जन्मिने बित्तिकै पहिले सुत्केरी भेट्न वडा स्वास्थ्य चौकीबाट स्वास्थ्यकर्मीहरूको टोली जानुहुन्छ,” वडाध्यक्ष उर्गेन बमजनले भने । “उहाँहरूले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण नियमावली २०७७ को अनुसूची १० बमोजिम सूचना फारम भरेर वडालाई उपलब्ध गराउनुहुन्छ । उहाँहरूले आमा र बाबुको विवाह दर्ताको फोटो र बच्चाको फोटो खिच्नुहुन्छ ।” त्यसका आधारमा वडाले जन्म दर्ता तयार गर्ने बमजनले बताउनुभयो । उनका अनुसार, जन्म दर्ता जनप्रतिनिधि र कर्मचारीको टोली घरमै पुगेर अभिभावकलाई हस्तान्तरण गरिन्छ ।
वडामा रहेका सात वटा सामुदायिक र दुई वटा संस्थागत विद्यालयमा पुगेर दुई वर्षअघि विद्यार्थीको जन्म दर्ता जाँच गर्दा कतिपयको नभएको पाइएपछि यो विषयलाई वडाले संवेदनशील रूपमा लिइएको बमजन बत्ताउँछन् ।
शतप्रतिशतको जन्म दर्ता गराउने लक्ष्य लिएको वडाले त्यहाँका तीन वटा खोप केन्द्रमा पनि अनुगमन गरेको थियो । खोप केन्द्रमा खोप हान्दै गरेका नानीहरूको जन्म दर्ता भए–नभएको चेकजाँच गर्दा कतिपयलाई जन्म दर्ता गर्ने समयावधि, कागजी र कानुनी प्रक्रिया नै थाहा नभएको पाइएको बमजनले बताए ।
Discussion about this post