काठमाडौँ । सैनिक कमान्ड तथा स्टाफ कलेजमा २०८० वैशाख ४ गते सुरु भएको सि.सं.३० कमान्ड तथा स्टाफ तालिमको दीक्षान्त समारोह सम्पन्न भएको छ ।
नेपाली सेनाका ५३ जना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, राष्ट्रिय अनुसन्धान विभागका १र१ जना तथा नाइजेरिया, केन्या, मालदिभ्स, भारत, पाकिस्तान र दक्षिण कोरियाका १-१ जनासहित जम्मा ६२ जना शिक्षार्थी अधिकृतहरूले उक्त तालिम सम्पन्न गरी दीक्षित भएका हुन् ।
प्रमुख अतिथिको रूपमा समारोहलाई सम्बोधन गर्दै प्रधान सेनापति प्रभुराम शर्माले शिक्षार्थी अधिकृतहरूलाइ प्रमाणपत्र प्रदान गरेका थिए ।
सन् २०१० बाट विदेशी शिक्षार्थीहरू सहभागी हुन सुरु भएको यस तालिमबाट हालसम्म नेपाली सेनाका ११७३, नेपाल प्रहरीका १५, सशस्त्र प्रहरी बल, नेपालका २७, राष्ट्रिय अनुसन्धान विभागका १८, रक्षा मन्त्रालयका १ र विभिन्न राष्ट्रहरूका ११४ गरी जम्मा १३४८ जना शिक्षार्थी अधिकृतहरू प्रशिक्षित भएका छन् ।
सुनसरी इटहरी २ घर भएका सह सेनानी राकेश बस्नेत शैक्षिक अध्ययनका साथै समग्र तालिममा सर्वोत्कृष्ट विद्यार्थी अफिसर बनेका छन । तालिमको मास्टर्स इन् स्ट्राटेजिक स्टडिज प्रोगाम विषयको शोधपत्रतर्फ सेनानी उज्ज्वल खड्का र केन्याका मेजर ओस्कर एमविटा ओमाहे संयुक्त रूपमा सर्वोत्कृष्ट भएका छन् । विदेशी शिक्षार्थीहरू तर्फ भारतीय सेनाका मेजर रमेश साङ्वानले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय विद्यार्थीको अवार्ड प्राप्त गरेका छन् ।
उक्त कार्यक्रममा बलाधिकृत रथी अशोकराज सिग्देल, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक, जनप्रतिनिधि, पूर्वशिक्षाधिकृतहरु, नेपालस्थित विभिन्न देशका सैनिक सहचारीहरू, शिक्षार्थी अधिकृतहरूका परिवारजनको उपस्थिति रहेको थियो ।
वि.सं. २०४९ पौष १४ गते स्थापना भएको सो कलेजले वि.सं. २०५० भाद्र २० गते १२ जना शिक्षार्थी अधिकृतहरू समावेश गरी पहिलो पटक कमान्ड तथा स्टाफ तालिम थालनी गरेको थियो ।
Discussion about this post