काठमाडौं । व्यापारिक घराना विशाल ग्रुपले बृहस्पति विद्यासदनको नामबाट ६० वर्षका लागि लिजमा हडपेको नेपाल बाल संगठनको नक्सालस्थित २८ रोपनी ५ आना जग्गा सरकारले फिर्ता लिने संकेत दिएपछि विद्यार्थीहरूको बिजोग हुने सम्भावना बढ्न थालेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृहमन्त्री भएपछि विभिन्न व्यक्ति वा संस्थाले हडपेको सरकारी जग्गा फिर्ता लिने संकेत दिएका हुन् । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मुलुकभरबाट हडपिएका सरकारी जग्गा यथाशीघ्र सरकारका नाममा फिर्ता ल्याउन निर्देशन दिइसकेका छन् ।
कुनै पनि व्यक्ति तथा संस्थाले हडपेका सरकारी स्वामित्वका जग्गा तत्काल सरकारका नाममा ल्याउन पहल गर्ने बताएपछि बृहस्पति विद्यासदनका विद्यार्थी र अभिभावक अन्योलमा परेका छन् ।
बाल संगठनको जग्गा हडपेको विशाल ग्रुपको बृहस्पतिका विद्यार्थीको हालत के होला ?
गृहमन्त्री लामिछानेले सरकारी जमिन हडप्नेलाई निर्मम कारबाही गर्ने, हडपिएका सरकारी जमिन सरकारको नाममा ल्याउने भनेर पदबहालीकै दिन प्रतिबद्धता जनाएका थिए ।
नवनियुक्त उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफू मातहतका निकायलाई निर्देशन दिएपछि चुप लागेर बसेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत बाल संगठनको जग्गाको विषयमा फाइल खोल्न थालेको बताइएको छ ।
उनले सार्वजनिक एवं सरकारी स्वामित्वको जग्गा कसैले हडपेको भए त्यसको यकिन विवरण मन्त्रालयसमक्ष पेस गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएका छन् ।
मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले सरकारी जग्गा अतिक्रमण हुन नदिन मुलुकभरका प्रशासन कार्यालयलाई मन्त्रालयले सो निर्देशन दिइएको जानकारी दिए ।
उनले सरकारी, सार्वजनिक, सन्धिसर्पन, ऐलानी कायम गर्ने प्रयोजनका लागि सोसम्बन्धी सत्यतथ्य सूचनासहितको विवरण संकलन गरी गृह मन्त्रालयमा पठाउन भनिएको बताए । त्यस्तो कार्य गर्नेउपर प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउन सम्बन्धित सरोकारवाला निकायसँग समन्वय गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई मन्त्रालयले पत्राचार गरेको छ ।
सरकारी, सार्वजनिक वा निश्चित प्रयोजनका लागि उपयोग गर्न दिइएका जग्गा अनधिकृत रूपमा दर्ता वा दाखिल खारेज गरी अतिक्रमण वा कब्जा गरेको एवं तोकिएको उद्देश्यभन्दा फरक प्रयोजनका लागि प्रयोग भएका विभिन्न घटनाबाट देखिएपछि मन्त्रालयले जग्गा फिर्ताको पहल थालेको हो ।
गैरकानुनी तवरले भाडामा लिएको नेपाल बाल संगठनको सरकारी जग्गालाई पनि बन्धकी राखेर करोडौं रुपैयाँ कर्जा लिँदासमेत सम्बन्धित निकाय मौन बसेको थाहा पाएपछि उपप्रधानमन्त्रीसमेत रहेका लामिछानेले यस’दयगत अध्ययन अनुसन्धानको आवश्यकता देखेका छन् ।
सरकार र सरकारमा रहेका व्यक्तिलाई आर्थिक प्रलोभन र दबाबमा पार्न खप्पिस रहेको विशाल ग्रुपले भाडामा लिएको जग्गा नै कसरी धितो राख्यो भने प्रश्न उब्जेको छ । धितो राखेको कुरा अख्तियारले समेत पुष्टि गरिसक्दा पनि यसअघिको सरकार मौन बसेको थियो । सरकारी जग्गा आफ्नै सम्पत्तिसरह धितो राखेर कर्जा लिँदा पनि सरकार भने मूकदर्शक भएर मौन बस्नुलाई आपसी मिलेमतो रहेको अनुमान गरिएको थियो ।
कर्जा प्रवाहमा बदनामी कमाएको तत्कालीन बैंक अफ काठमाडौंले भाडामा लिएको जग्गा कसरी धितो सका¥यो भन्ने शंका उब्जाएको छ । सरकार र बैंकलाई समेत प्रभाव र दबाबमा पार्न सकेको विशाल ग्रुपले नेपाल बाल संगठनकी तत्कालीन अध्यक्ष रीतासिंह वैद्यलाई मोटो नजराना टक्र्याएर जग्गा हातमा पारेको आरोप लाग्दै आएको छ ।
– अतिक्रमण वा कब्जा गरेको एवं तोकिएको उद्देश्यभन्दा फरक प्रयोजनका लागि प्रयोग भएका विभिन्न घटनाबाट देखिएपछि गृह मन्त्रालयद्वारा जग्गा फिर्ताको पहल
– धितो राखेको कुरा अख्तियारले समेत पुष्टि गरिसक्दा पनि यसअघिको सरकार मौन बसेको थियो ।
– बाल संगठनसँग अर्बौंको सम्पत्ति छ । तर, अनाथ बालबालिका बस्ने राम्रो बास पनि छैन ।
– बैंक अफ काठमाडौंले लालपुर्जाबिनाको सरकारी जग्गा कुनै आधारबिना नै धितो सकारेको
कांग्रेस नेता प्रकाशमान सिंहकी दिदी वैद्यले सर्वमान्य नेता गणेशमान सिंहको नाममाथि नै दाग लाग्ने काम गरेकामा कांग्रेस कार्यकर्ता रुष्ट छन् । लिजमा हडपेको बाल संगठनको जग्गा विशाल ग्रुपको बृहस्पति विद्यासदनले भारतीय पाठ्यक्रम पढाउने राय स्कुललाई सबलिजमा दिएको छ ।
भाडामा लिएको विषयमा पटकपटक प्रश्न उब्जेपछि बृहस्पतिले ५२ करोडको सम्पत्ति अभिवृद्धि गर्ने, जग्गा लियन र सबलिजमा दिनसक्ने र ६ महिनाभित्र बाल संगठनलाई दुईकोठे भवन बनाइदिनेगरी कानुनविपरीत मिलापत्र गरेको कागजका आधारमा तत्कालीन बैंक अफ काठमाडौंले धितो सकारेको देखिएको छ ।
सर्वसाधारण जनतालाई भने झुक्याएर कर्जा दिने, किस्ता रकम बढाउने, नम्बरी जग्गा पनि धितो नसकार्ने बीओकेले लालपुर्जाबिनाको सरकारी जग्गा कुनै आधारबिना नै धितो सकारेको देखिएको छ । विभिन्न काण्डैकाण्ड र बदनामी भोगेको बीओकेका पदाधिकारी बैंकलाई ग्लोबल आईएमई बैंकमा गाभ्न सफल भएका थिए ।
विशाल ग्रुपको बृहस्पतिले ३ साउन २०७२ मा पूरक सम्झौताबाट आगामी २१३१ सालसम्मका लागि जग्गा हत्याएको थियो । पूरक सम्झौतामा सरकारी जग्गा लियन राखी बैंकसँग कारोबार गर्नसक्ने व्यवस्था रहेको बताइएको छ । नेपाल बाल संगठनको जग्गासम्बन्धी जाँचबुझ आयोगले बदनियतपूर्ण रूपमा सो सम्झौता गरेको भनेर सरकारलाई प्रतिवेदन दिइसकेको छ ।
बृहस्पतिले जग्गा धितो राख्दा २६ भदौ २०७५ मा ३० करोड रुपैयाँ १० वर्षभित्र चुक्ता गर्नेगरी र १ असोजमा थप १ करोड ३३ लाख रुपैयाँ १ वर्षका लागि नवीकरणीय ऋण लिएको पुष्टि भइसकेको छ । लियन राखेको सम्पत्तिको हैसियत अरूबेला बैंकमा धितो राखी रकम लिएको सरह मानिन्छ । कर्जा समयमै चुक्ता नगरे बैंकले लीलाम गर्नसक्छ । सरकारी जग्गामा बनेका संरचना धितो राखेर कर्जा निकाल्न स्वीकृति दिने बाल संगठनको ‘गैरकानुनी सम्झौता’माथि सरकारले उदासीनता देखाइरहेको छ ।
नेपाल बाल संगठनका तत्कालीन पदाधिकारी र कर्मचारीको मिलेमतोमा नक्सालस्थित बाल मन्दिरको २९ रोपनी ४ आना जग्गा ५९ वर्षसम्मका लागि सस्तो भाडादरमा भोगचलन गर्न दिइएको थियो । संगठनले २०७२ सालमा सो सरकारी जग्गा वार्षिक ९० लाख रुपैयाँ भाडा बुझाउनेगरी आगामी २१३१ सालसम्मका लागि बृहस्पति विद्यासदनलाई दिएको हो ।
यसअघिको सम्झौता नसकिँदै संगठनले बृहस्पतिलाई सो जग्गा बैंकमा ‘लियन’ ९एक किसिमको धितो, जुनबापतको रकम चुक्ता नगरेसम्म बैंकले स्वामित्व ग्रहण गर्न-राख्नसक्छ- राखेर कर्जा निकाल्न पनि स्वीकृति दिएको देखिएको छ । कानुनअनुसार सरकारी जग्गा धितो राखेर बैंकबाट कर्जा लिन पाइँदैन ।
सरकारी जग्गा कानुनी प्रावधानविपरीत भोगचलनका लागि दिइएकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि फितलो छानबिन गरिरहेको आरोप लागेको छ । बाल संगठनकी तत्कालीन अध्यक्ष वैद्यकै अगुवाइमा २०४९ सालमा विभिन्न जिल्लामा रहेको बाल संगठनको जमिन निजी सम्पत्तिसरह भोगचलन र किनबेच गर्न पाइने विवादास्पद प्रावधानसहित संगठनको विधान तयार गरिएको थियो । पछि त्यही विधानका आधारमा वैद्यले बृहस्पतिलाई सस्तोमा जग्गा भाडामा दिने निर्णय गरेकी थिइन् । –
२०४१ सालमा स्थापना भएको बृहस्पति विद्यासदन २०४९ सालमा सरकारी जमिन हात पारेर बाल मन्दिर परिसर छिरेको हो । बृहस्पतिलाई २०५९ सालसम्म पटकपटक पूरक सम्झौता गरी जग्गाको क्षेत्रफल बढाएर १४ रोपनीसम्म भोगचलन गर्न दिइएको थियो । ११ भदौ २०५९ मा भने थप १३ रोपनी १२ आना १ पैसा जग्गा भाडामा दिनेगरी ३० वर्षे सम्झौता गरिएको थियो । कागजमा १३ रोपनी १२ आना देखाइए पनि बृहस्पतिलाई १४ रोपनी ९ आना भोगचलन गर्न दिएको पाइएको अख्तियार स्रोतले बताएको छ ।
सम्झौताको म्याद २०८८ सालसम्म थियो, तर म्याद सकिन १६ वर्ष बाँकी रहँदै २१ जेठ २०७२ मा संगठनले प्रतिवर्गफिट ६ रुपैयाँ कायम गरी २९ रोपनी ४ आना जग्गा बृहस्पतिलाई भाडामा दिने सम्झौता गरेको थियो । बृहस्पतिकै प्रस्तावमा २९ रोपनी ४ आना जग्गाको भाडा वार्षिक ९० लाख रुपैयाँ कायम गरिएको छ । सोही जग्गाको केही अंश भारतीय पाठ्यक्रम पढाउने राय स्कुललाई ६० लाखमा भाडामा लगाइएको छ भने केही अंश धितो राखेर विशाल ग्रुपले अनियमित रूपमा अकूत सम्पत्ति जोडेको छ ।
संगठनबाट लिएको जग्गामध्ये ५ रोपनी मात्रै बृहस्पतिले ५० वर्षका लागि राय स्कुललाई दिएको छ । तर, २०७६ सालयता बृहस्पतिले राय स्कुलसँग सो जग्गाको भाडा मासिक ५ लाख रुपैयाँका दरले वार्षिक ६० लाख रुपैयाँ उठाउँदै आएको छ ।
राय स्कुल भारतीय बोर्डअन्तर्गत सञ्चालित छ । बाल मन्दिरको सम्पत्ति चरम दोहन भएको पाइएपछि सरकारले २०७६ कात्तिकमा पूर्वन्यायाधीश हरिबाबु भट्टराईको अध्यक्षतामा जाँचबुझ आयोग बनाउँदै वैद्य नेतृत्वको कार्यसमिति भंग गरेको थियो ।
जाँचबुझ आयोगले पनि २०४९ सालबाटै तत्कालीन कार्यसमितिका पदाधिकारी, सदस्य र कर्मचारीको मिलेमतोमा बाल संगठनको सम्पत्ति दोहन गरेर व्यक्तिको भोगाधिकारमा लगिएको निष्कर्ष निकालेको थियो । त्यही प्रतिवेदनका आधारमा अहिले अख्तियारले अनुसन्धान गरिरहेको छ ।
बाल संगठन र बृहस्पति विद्यासदनबीच जग्गा लिज सम्झौता हुँदा कानुन मिचिएको छ । नैतिक पक्षलाई मात्र नभई सामान्य व्यावहारिक पक्षलाई पनि ख्याल नगरिएको बताइएको छ । जग्गा अनाथ बालबालिकाकै लागि उपयोगमा आउनुपर्नेमा व्यापारीलाई पोस्ने काम भएको छ ।
बाल संगठनसँग अर्बौंको सम्पत्ति छ । तर, अनाथ बालबालिका बस्ने राम्रो बास पनि छैन । वर्षायाममा कहाँ सुत्ने भन्ने चिन्ता बालबालिकामा छ । बालबालिकाले यस्तो परिस्थितिको सामना गर्दा संगठनबाट लिजमा लिएको २८-३० रोपनी जग्गामा व्यापारीले रजाइँ गरिरहेका छन् । बाल संगठनको जग्गा विशाल ग्रुपले कब्जा गरिसकेको छ ।
आजको राजधानी दैनिकमा प्रकाशित छ ।
Discussion about this post