धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा प्रवेशद्वार अघि रहेको अव्यवस्थित पार्किङलाई व्यवस्थित गर्न पहल सुरु भएको छ ।
सोमबार धरान उपमहानगरपालिकाको वडा नम्बर १८ का वडाध्यक्ष प्रविण राई र नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रीय अध्यक्ष भीम ज्वाला राई सहित सरोकारवालाहरूको उपस्थितिमा अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्न थालिएको हो ।
ट्याम्पो, सिटी सफारी, एम्बुलेन्स तथा मोटरसाइकल लगायतका सवारीसाधनहरूको अव्यवस्थित पार्किङका कारण प्रतिष्ठानमा उपचारका लागि आउने आगन्तुक तथा अन्य सवारीसाधनलाई समेत आवतजावतमा समस्या उत्पन्न भएपछि सुधारको प्रयत्न सुरु गरिएको धरान १८ नम्बर वडा अध्यक्ष प्रविण राईले बताए ।
अब अस्पताल प्रवेशद्वारा अघि ६ वटा ट्याम्पो, ४ वटा सिटी सफारी मात्रै पार्किङ गरिने र बाँकी ट्याम्पो र सफारी बीपी सुन्दर बजारदेखि दक्षिणतर्फ सार्वजनिक शौचालयसम्म र मोटरसाइकल पार्किङ औषधी पसल एकतर्फी व्यवस्थित गरिने उनले बताए ।
एम्बुलेन्सहरू शिव मार्ग तर्फ व्यवस्थित गर्दै उक्त क्षेत्रमा ९ वटा सङ्केत बोर्डहरू र सवारी पार्किङका लागि सडकमा इनामेलले रेखा कोरिने र त्यसको सम्पूर्ण खर्च व्यवस्थापन वडा समितिले गर्ने अध्यक्ष राईले बताए ।
निर्धारण गरिएका स्थानहरूमा मजदुरहरूकै तर्फबाट स्वयंसेवक परिचालन गरी नियमको पालना गराइने नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रीय अध्यक्ष भीम ज्वाला राईले बताए ।
सवारीसाधनको अस्तव्यस्तका कारण हामी मजदुरहरूलाई समेत काम गर्न अप्ठ्यारो भइरहेकोमा सबैको पहलमा नयाँ सिस्टम सुरु हुँदा हामीलाई यसले सहज हुने ट्याम्पो चालक सेवित राईले बताए ।
सवारी पार्किङ व्यवस्थापनमा १८ नम्बर वडा अध्यक्ष प्रविण राई, सङ्गठनका अध्यक्ष मजदुर नेता भीम ज्वाला राई, धरान नगर प्रहरी प्रमुख इन्स्पेक्टर विष्णु कोइराला, सुनसरी जिल्ला ट्राफिक प्रहरी कार्यालयका सइ दिलीप चौधरी, कान्तिपुर सेक्युरिटी कम्पनीका धरान प्रमुख दुर्गा पराजुली लगायत मजदुरहरूको उपस्थिति रहेको थियो ।
Discussion about this post