सन्दर्भ : मातातीर्थ औंशी
टीका खतिवडा
इलाम । नाम–बिष्णु कुमारी लिम्बू । बिबाह पश्चात–बिष्णुकुमारी लिम्बु (दाहाल) अर्थात सबैकी प्यारी ‘विष्णु दिदी’ । उमेरले ७७ वर्षकी बिष्णुकुमारी ‘दिदी’ होइन सबैकी ‘आमा’ को भूमिकामा छिन् । जीवनभर समाजसेवा गरेर लोकप्रिय बनेकी उनी एक असल आमाका रुपमा सतीसाल झैं उभिएकी छिन् र असाहयहरुको सहारामा दौडिरहेकी छिन् ।
इलामकी मात्र होइन देशकै एक सशक्त, जुझारु महिलाको सूचीमा उनको नाम आउँछ । लामो संघर्ष र लगनशील भएर समाजसेवामा लागेकी उनी हाल इलाम नगरपालिकाको उपमेयर छिन् । महिला जागरण संघ इलामको अध्यक्ष समेत रहेकी उनी इलाम नगरपालिका ७ की स्थायी बासिन्दा हुन् ।
महिला जागरण संघ अर्थात उनकै पहलमा इलाम नगरपालिका १० को गोदकमा २०६३ सालमा बृद्धाश्रम स्थापना गरिएको छ । आश्रममा हाल १३ जना बृद्धबृद्धा छन् । असहाय र वृद्धवृद्धाकी समेत ‘आमा’का रूपमा परिचित बिष्णुकुमारी उमेर ढल्किए पनि समाजसेवामा उत्तिकै सक्रिय छिन् । बृद्धबृद्धाहरुको मात्र होइन सबैकी आमाको भूमिकामा उनलाई मानसपटलमा राख्ने गरिन्छ ।
उनकै पहलमा सञ्चालित बृद्धाश्रम हाल समेत दाताकै भरम सञ्चालित छ । निडर र हाक्की स्वभावकी उनी घरेलु हिंसामा परेकाहरुको समेत कानुनी उपचार खोज्न समेत सहयोग गर्दै आएकी छिन् । बेसहारा भएका उमेरले ६५ वर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई सो आश्रममा राखिने गरिएको छ ।
२००४ साल चैत्र पाँच गते तत्कालीन साङरुम्बामा जन्मिएकी उनले प्रविणता प्रमाणपत्र तहसम्म अध्ययन गरेकी छिन् । इलामकै वेदप्रकाश दाहालसँग २०२४ सालमा बैबाहिक बन्धनमा बाँधिएकी उनले सो बेला अन्तरजातिय बिबाह गरेर समेत निकै ठुलो चुनौतीको सामना गर्नुपरेको थियो ।
समाजसेवा उनको सूची लामो छ । विभिन्न संघसंस्थाको नेतृत्व गरेर उनल सयौंलाई जीवन दिएकी छिन् । नेपाल रेडक्रस सोसाइटीको आजिवन सदस्य हुँदै २०३८ सालमा नेपाल रेडक्रस सोसाइटीकी इलाम जिल्ला सभापती भएकी उनी २०४२ सालमा नारी विकास संघ इलाम शाखाको सदस्य हुँदै उहाँ २०४८ देखी २०७८ सम्म महिला जागरण संघ इलामको अध्यक्ष भएर काम गरिसकेकी छिन् । २०६३ सालमा माइभगवती बृद्धाश्रमको संस्थापक अध्यक्ष हुँदै २०७८ सम्म अध्यक्ष नै रहेर काम गरिन ।
जिल्ला सहकारी संघ इलामको तीन पटकसम्म अध्यक्ष भएकी उनी सेतिदेवी वहुउद्देशीय सहकारी संघको संस्थापक अध्यक्ष समेत हुन । निकै लामो समय समाजसेवामा तल्लिन उनी हाल इलाम नगरपालिकाको उप मेयरको भूमिकामा छिन् । । उनले हाल समेत न्यायिक समितिको संयोजक रहेर नगरवासीलाई न्याय दिलाउने कार्य गरिरहेकी छिन् ।
धेरैलाई अप्ठ्यारो पर्दा सहयोग गर्ने, असाहायलाई सहायता दिलाउने उनी एकल जीवन बिताइ रहेकी छिन् । तीन छोरामध्ये दुई छोरा गुमाइसकेकी उनी परिवारको भन्दा समाजको चिन्तामा जीवन ब्यतित गरिरहेकी छिन् । उनले समाजसेवामा लागेकै भएर २०७० सालमा समाज जनकल्याण परिषदबाट समाज सेवा सम्मान पाइन ।
त्यस्तै भानु प्रतिष्ठान काठमाण्डौबाट समेत नेपालका प्रथम राष्ट्रपती रामवरण यादवबाट सम्मानित भइसकेकी छिन् । तत्कालिन विद्यादेवी भण्डारी जनसेवी पञ्चन श्रेणी विभुषण २०७८ बाट समेत सम्मान भएकी उनी जयनेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठान झापा र इलामबाट २०८० सालमा सम्मानीत भएकी थिइन ।
पाको उमेरमा पनि सक्रिय समाजसेवी बनेर दौडिरहेकी विष्णुकुमारी वास्तवमै एक असल आमा र एक जिम्मेवार अभिभावकका रुपमा आफूलाई स्थापित गरिसकेकी छिन् ।
Discussion about this post