बिराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति पद कसले पाउने भन्ने पहिले नै तय भएको विषय बताउँदै आफ्नो पार्टीले उठाउने उम्मेदवारलाई नेकपा माओवादी केन्द्रले समेत समर्थन गर्ने दाबी गरेका छन् ।
विराटनगरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले आगामी फागुन १३ गते राष्ट्रपतिको उम्मेदवार टुंगो लाग्ने पनि बताएका हुन् । अध्यक्ष ओलीले भने, राष्ट्रपति को हुन्छ पहिले नै तय भएको छ । अहिलेको समीकरण जन्मँदा त्यसको जन्मकुण्डलीमा नै लेखेर आएको छ ।यसमा माओवादीले साथ नदिने सम्भावना छैन । त्यसको परिकल्पना पनि नगर्नुहोला । माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले त्यस्तो सहमति नभएको अभिव्यक्ति दिएको बारे ओलीले भने, सबैसँग कहाँ सहमति हुन्छ ,सबै नेता कार्यकर्तासँग कहाँ सहमति गर्दै हिँडिन्छ ।
अहिले राष्ट्रपति पदका लागि अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङ, ईश्वर पोखरेल लगायत विभिन्न नामहरूमाथि भइरहेको चर्चा बारे उनले भने, हामीले जो उम्मेदवार बनाउँछौँ तिनी नै राष्ट्रपति बन्छन् । त्यो १३ गते थाहा पाउनुहुन्छ । १३ गते नै म नाम लिन्छु ।
उनले माओवादीको साथ छाडेर नेपाली कांग्रेससँग गठबन्धन गर्ने विषय प्रोभोकिङ कुरा भएको बताए । अहिले हामीले सोचे सम्झेर समीकरण बनाएका हौँ । यसलाई चलाइरहेका छौँ, यसलाई नै अघि बढाउँछौँ । उनले आफूलाई नै राष्ट्रपति बनाउने कुरा केही नेताहरूको रमाइलो कुरा मात्र भएको जिकिर गरे ।
पूर्व राजा ज्ञानेन्द्र शाहले दलहरूसँग सहकार्य गर्न गरेको प्रस्तावबारे अध्यक्ष ओलीले भने, ज्ञानेन्द्रजी आफै अलमलमा हुनुहुन्छ । वहाँ अझै पनि पुरानो झल्को आइरहन्छ । त्यो झल्कोले दुई–चराजना मान्छे वरिपरि देख्यो भने अलिअलि जोस्याउँछ । त्यति मात्र हो अरू केही होइन । त्यसैले के को सहकार्य रु वहाँ आफै पोलिटिक्समा हिँडिराख्नुभएको छ ।
शाहको अभिव्यक्ति बारे उनले थपे, अहिलेभन्दा १५ वर्षअघि २४० वर्षसम्म वहाँहरूले देश चलाउनु भएको होइन । त्यतिबेला देशलाई के बनाउनु भएको थियो ? कहाँ पु¥याउनु भएको थियो ? १५ वर्ष त भयो जनताले आफ्नो हातमा लिएको । १५ वर्षमा कति वटा कुरा मिलाउनु पर्ने बाँकी होला । र जनताले २५० वर्ष त लिएको छैन नि । पूर्व राजालाई समावेश गरेर पार्टीका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले आयोजना गरेको कार्यक्रम पार्टीले आयोजना नगरेको पनि उनले स्पष्ट पारे ।
Discussion about this post