काठमाडौँ । ‘द पोएट आइडल सिजन २’को उपाधि सिक्किमका सिमियोन सुकिता राईले आफ्नो पक्षमा पार्न सफल भएकी छन् । शनिवार राती अबेर सम्पन्न फिनाले एपिसोडमा उनले नगद १० लाखसहितको पुरस्कार जितेकी हुन् । राईले एभरेस्ट फिल्म कलेजबाट एक वर्षको स्नातक अध्ययनको छात्रवृत्ति, कथा लयसँग पुस्तकको सम्झौता, उत्पला क्याफेको तर्फबाट एक लाखको गिफ्ट भौचर प्राप्त गरेकी छन् ।
फिनालेमा अभिनेता सुनिल थापा र फिल्म ‘पुजार सार्की’को कलाकार तथा निर्देशक अतिथिको रूपमा सहभागी रहेका थिए । ‘पोएट आइडल’को दोस्रो सिजनमा उपेन्द्र सुब्बा, विप्लव प्रतीक, अनुप बराल र केकी अधिकारी निर्णायक रहेका थिए ।
निर्णायक मध्येकी अभिनेत्री केकी अधिकारीको लागि कार्यक्रम अवधिभरको ड्रेस चर्चित ड्रेस डिजाइनर सन्जिता बरालले तयार पारेकी हुन् । चार महिनासम्म चलेको सिजन २ मा उत्कृष्ट ड्रेस डिजाइनको सम्मान सन्जिता बरालले पाएकी छिन् ।
बरालले नेकष्ट सुपर मोडल २०१७, मिस एण्ड मिसेज नेपाल एलिगेन्स २०१८, मिस नेपाल २०२२ लगायतका दर्जनौँ बिग रियालिटी शो मा प्रतिस्पर्धीहरूको लागि ड्रेस डिजाइन गरेबापत उत्कृष्ट सम्मान तथा अवार्ड पाउँदै आएकी छिन् ।
दिब्यदेवले सहजीकरण गरेको कार्यक्रममा बोल्दै निर्देशक अमन प्रताप अधिकारीले तेस्रो सिजन पनि चाडै नै दर्शकमाझ आउने जानकारी गराए ।
Discussion about this post