बेलबारी । मोरङको बेलबारीमा यात्रुबहाक बसले ठक्कर दिँदा बुधबार बिहान साइकलयात्री एक जना युवकको मृत्यु भएको छ । अर्का युवक घाइते भएका छन् ।
प्रहरीका अनुसार ना ५ ख ६९४२ नम्बरको बसले पूर्व–पश्चिम लोकमार्गअन्तर्गत बेलबारी नगरपालिका–१ मा एकैपटक दुईवटा साइकललाई बिहान ६ः३० बजेतिर ठक्कर दिएको थियो । मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीले दुर्घटनामा परेर साइकलयात्री बेलबारी–२ का १९ वर्षीय लेखनाथ चौहानको मृत्यु भएको जानकारी दिए । गम्भीर घाइते चौहानलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइपुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको उनको भनाइ छ ।
बसको ठक्करबाट अर्को साइकलका यात्री बेलबारी–२ का १८ वर्षीय राम बस्नेत घाइते भएका छन् । सामान्य अवस्थाका बस्नेतको नोबेलमै उपचार भइरहेको छ । बस र चालक स्याङ्जाको आँधीखोला गाउँपालिका–२ का ३८ वर्षीय नरेन्द्र दर्जीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post