बेलबारी । मोरङको बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई र उपपप्रमुख नितु थापा (कोईराला) ले हात्तीपाइले रोगविरुद्धको औषधी खाएर अभियानको थालनी गरेका छन ।सरकारले १५ जिल्लामा बिहिबारबाट शुरु गरेको हात्तीपाइले रोगविरुद्ध औषधी खुवाउने अभियानमा अन्र्तगत उनीहरुले औषधी खाएका हुन ।
बेलबारी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्तोष विश्वकर्माले उनीहरुलाई औषधी खुवाएर अभियानको थालनी गरेका थिए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्की,अधिकृतहरु महेन्द्र खडका,झमक भट्टराई,एलिना बस्नेत लगायत नगरपालिकाका बिभिन्न शाखाका प्रमुख,कर्मचारी,सञ्चारकर्मीहरु लगायतले औषधी सेवन गरेका छन ।
हात्तीपाइले नियन्त्रण हुन नसकेका झापा, मोरङ, महोत्तरी, धनुषा, बारा, सर्लाही, रौतहट, रसुवा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, दाङ, बाँके र कैलालीमा बिहीबारदेखि यो अभियान सुरु भएको हो।
‘आम औषधी सेवा’ नाम दिएको यो अभियान १५ गतेसम्म चल्ने स्वास्थ्य शाखा प्रमुख बिकले बताए । यी जिल्लामा अपेक्षित रूपमा रोग घट्न नसकेपछि आम औषधि सेवन कार्यक्रम राखेको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
१५ जिल्लाका ८४ लाख ९८ हजार ५०० जनालाई औषधी खुवाउने सरकारको लक्ष्य छ। महाशाखाका आम औषधि सेवन कार्यक्रमका लागि ९ हजार ५०० स्वास्थ्यकर्मी र १३ हजार महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ । वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, विद्यालय, सहकारी, धार्मिकस्थललगायतमा बुथ राखि औषधी खुवाइनेछ।
दुई वर्ष नपुगेका बालबालिका,गर्भवती र सात दिनसम्मका सुत्केरी तथा सिकिस्त बिरामीले हात्तीपाइलेविरुद्धको औषधी नखुवाउन मन्त्रालयले आग्रह गरेको छ।
Discussion about this post