विराटनगर । सट्टेबाजी गरेको आरोपमा विराटनगरबाट दाजुभाइ पक्राउ परेका छन् ।
प्रहरीले विराटनगर महानगरपालिका–१२ का २० वर्षीय उत्सव अर्याल र १८ वर्षीय उत्कृष्ट अर्याललाई पक्राउ गरेको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले उनीहरुलाई भदौ १८ गते घरबाटै पक्राउ गरिएको जानकारी दिए ।
उनका अनुसार दुवै जनाले घरबाटै सट्टेबाजीको धन्दा चलाइरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । विभिन्न एप्समार्फत अनलाइन सट्टेबाजी सम्बन्धी गैरकानुनी क्रियाकलाप गर्दै आएको सूचना प्रहरीले प्राप्त गरेको थियो । त्यही आधारमा घरमा छापा हानेर दाजुभाइलाई पक्राउ गरिएको डीएसपी बस्नेतको भनाइ छ ।
उनका अनुसार उत्कृष्टले प्रयोग गर्दै आएको एनड्रोइड मोबाइलमा ‘वान एक्स बेट’लगायतका एप्स ‘डाउनलोड’ गरेको र त्यसमार्फत ‘अनलाइन डिजिटल’ खाताबाट सट्टेबाजी लिनेदिने काम गर्ने गरेको पाइएको छ । सट्टेबाजीमा प्रयोग गर्दैै आएको कम्प्युटरको सीपीयू, राउटर, मोबाइललगायत घरको कोठाबाट बरामद गरिएको जानकारी उनले दिए ।
पक्राउ परेका दाजुभाइविरुद्ध मुलुकी अपराध संहिता २०७४ बमोजिम सट्टेबाजी गर्न नहुने कसुरमा मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर प्रहरीले अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको छ ।
मुलुकी अपराध संहिता २०७४ को दफा १२५ अनुसार सट्टेबाजी गर्नेलाई १ वर्षसम्म कैद र १० हजारसम्म जरिबाना हुन्छ । उक्त सजाय हुनका लागि मुद्दा स्थापित भएर कसुर ठहर हुनुपर्छ ।
Discussion about this post